काठमाडौ : महिनावारी सँग जोडिएका सबै सामाजिक गलत मान्यताको अन्त्य गर्न मर्यादित महिनावारीका पक्षमा सात बुँदे सामूहिक प्रतिबद्धता जारी गरिएको छ । राष्ट्रिय मर्यादित महिनावारी दिवस २०७५ को अवसरमा महिलाको मर्यादा, सम्मान, अस्तित्व र अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने महिनावारीको विषय सामाजिक तथा सांस्कृतिक कुरीति र गलत मान्यताका रुपमा रहेको तथ्यलाई स्वीकार्दै सामूहिक प्रतिबद्धता जाहेर गरिएको हो ।
प्रतिबद्धतामा राष्ट्रिय अन्तर्राष्ट्रिय कानुन, सन्धि, अभिसन्धी, सम्झौताहरु समेत कार्यान्वयनका लागि पूर्ण प्रतिबद्ध रहेको जनाएको छ । प्रतिबद्धतामा भनिएको छ ‘हामी कार्यपालिका, व्यवस्थापिका, संवैधानिक निकाय, सुरक्षा निकाय, विकास साझेदार संघसंस्था, नागरिक समाज, मिडिया तथा निजी क्षेत्रका प्रतिनिधीहरु राष्ट्रिय मर्यादित महिनावारी दिवस २०७५ का अवसरमा सामाजिक न्याय सहितको समृद्ध नेपालको निर्माण गर्ने लक्ष्य पूरा गर्न महिनावारी सँग जोडिएका सबै सामाजिक गलत मान्यताको अन्त्य गरी मर्यादित महिनावारीका पक्षमा प्रतिबद्धता व्यक्त गर्दछौं ।’

प्रतिबद्धताहरु :
१. हामी महिनावारीका समयमा हुने सबै प्रकारका हिंसा अन्त्य गर्न र सरसफाइको वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न संविधान प्रदत्त मौलिक हकको प्रत्याभूतिका लागि मर्यादित महिनावारी स्वच्छता नीति लागु गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
२. हामी महिनावारीका समयमा महिलाहरुको जीवन नै जोखिममा पर्ने छाउपडी लगायतका कु प्रथाहरुलाई पूर्ण रुपमा निषेध र निर्मूल गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
३. हामी देशैभरिका सामुदायिक विद्यालयमा नियमित पानीको उपलब्धता सहितको किशोरीमैत्री शौचालय निर्माण गर्ने र महिनावारीका समयमा विद्यालय आएर निर्धक्कसँग पढ्ने र स्वच्छता सामग्री उपलब्धताको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
४. हामी समुदायगत तहमा सरकारी र गैर सरकारी तहबाट सामाजिक परिवर्तनका सघन अभियानहरु सञ्चालन गर्दै समुदायलाई महिनावारीसँग जोडिएका कुरीति र गलत मान्यता परिवर्तन गर्न एकीकृत कार्ययोजना तर्जुमा गरी साझा कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
५. हामी स्थानीय तह, प्रदेश तह तथा संघीय तहको नेतृत्वमा रहेका सबै महिला तथा पुरुष जनप्रतिनिधीहरु आफ्नो घर, परिवार तथा समाजमा आफै उदाहरणीय बनेर महिनावारी सम्बन्धी सबै प्रकारका कुसंस्कार अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
६. हामी महिलाको प्रजनन् स्वास्थ्य, शिक्षा तथा सरसफाइका क्षेत्रमा संविधानको मर्म तथा नेपालले राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा गरेका वाचाहरु पुरा गर्नका लागि विकास साझेदारहरुका तर्फबाट दिगो विकास लक्ष्य पुरा गर्न राज्यको आवश्यकता अनुरुपको आर्थिक तथा प्राविधिक सहयोग, गैरसरकारी तथा निजी क्षेत्रबाट राज्यले अघि सारेका योजनाहरुमा हातेमालो र नागरिक समाज एवं समुदायका तर्फबाट महिला अधिकारको सुनिश्चितताका लागि परिवर्तनको यो अभियानमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
७. हामी ‘महिनावारीलाई म र मेरो घरबाट नै मर्यादित बनाउछु’ भन्ने दृढ अठोटका साथ हामीले आज गरेका प्रतिबद्धतालाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।


1055 पटक हेरिएको 

