काठमाडौं : १९ औं राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा देशका तीन जिल्ला खुला दिसामुक्त घोषणा भएका छन् । प्रदेश नं. ३ को ललितपुर र रामेछाप तथा प्रदेश १ को संखुवासभालाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो ।

प्रदेश नं ३ का सभासद शान्ति प्रसाद पौडेलले रामेछापलाई प्रदेश नं ३ को सोह्रौ तथा देशको ५३ औ जिल्लाको रुपमा आइतबार खुला दिसामुक्त घोषणा गर्नुभयो । सक्षम, समृद्घ र सभ्य रामेछाप निर्माण गर्ने मुल नाराका साथ सन् २०१६ सम्ममा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य २०७० बैशाखमा लिएको भएपनि २०७२ सालको भुकम्प र विभिन्न चुनौतीका कारण तोकिएको समय भन्दा ढिलो गरी खुल्ला दिसामुक्त घोषणा गरिएको हो ।
रामेछाप जिल्लामा २०७१ असारमा ५६.२५५ प्रतिशत घरधुरीमा सरसफाइको पहुँच पुगेको थियो । सरसफाइ अभियान सञ्चालन भएसँगै अन्तिममा २०७४ चैतमा रामेछाप नगरपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको थियो ।

साविक ४८ हजार १९२ घरधुरीमा शौचालय निर्माण गरी प्रयोग हुन थाले पछि क्षेत्रिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्नको लागि अनुमति दिए पछि रामेछाप खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्न बाटो खुलेको हो ।
रामेछाप जिल्लालाई खुल्ला दिसामुक्त अभियानमा सहयोग, सहजिकरण गर्न सहयोग गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरु तथा ब्यक्तिहरुलाई खुला दिसामुक्त घोषणा समारोहामा सम्मान तथा कदरपत्र समेत प्रदान गरिएको थियो । साथै राष्ट्रिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव ई. देवेन्द्र कुमार झाले रामेछाप जिल्ला ५३ औ खुल्ला दिसामुक्त भएको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।

यस्तै संखुवासभालाई ५४ औँ खुला दिसामुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ । प्रतिनिधि सभाका सदस्य राजेन्द्रप्रसाद गौतमले आज सोमबार संखुवासभालाई खुला दिसामुक्त घोषणा गर्नुभएको हो ।
‘स्वास्थ्य, इज्जत प्रतिष्ठाका लागि सरसफाइ खुला दिसामुक्त क्षेत्र, संखुवासभा पूर्ण सरसफाइ हाम्रो आवश्यकता’ भन्ने मूल नाराका साथ सम्पन्न समारोहमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, नेकपा जिल्ला प्रतिनिधि हेमराज घिमिरे, नेपाली काँग्रेस जिल्ला सभापति विपीनकुमार श्रेष्ठ, खानेपानी तथा ढल निकास विभागका कार्यकारी निर्देशक मीना श्रेष्ठ लगायतका प्रतिनिधिको सहभागिता थियो । जिल्लामा पाँच नगरपालिका र पाँच गाउँपालिका छन् ।

नयाँ संरचना अनुसार देशका ७७ जिल्ला मध्ये ५६ जिल्ला खुलादिसामुक्त भएका छन् । अब खुला दिसामुक्त घोषणा गर्न २१ जिल्ला मात्र बाँकी छन् ।


2376 पटक हेरिएको 

