बर्दिया : राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा बर्दियाका ४ समुदाय एकैदिन पूर्ण सरसफाइ उन्मुख स्वःघोषणा भएका छन् । बर्दियाको गेरुवा गाउँपालिकाका चारवटा समुदाय शुक्रबार पूर्ण सरसफाइ उन्मुख समुदाय स्वःघोषणा भएका हुन् ।

गेरुवागाउँपालिका वडा नं ६ स्थित लोहागढ, १ स्थित उत्तरपुरुवा र पट्वारीपुर तथा वडा नं. २ स्थित पट्वारीपुर समुदायले पूर्ण सरसफाइ उन्मुख अवस्थाका सूचक पूरा गरेको स्थानीय र वडा तहबाट सुनिश्चित गरी स्वः घोषणा गरिएको हो । ती चार वटै समुदायमा २०७४ भदौदेखि पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेको छ ।

“समुदायमा सबैजना सधै यसरी नै मिलेर विकास निर्माणमा लाग्नु होला, गाउँपालिकाबाट हुन सक्ने विकास योजना दिन कञ्जुस्याई गर्ने छैन” लोहागढमा आयोजित स्वघोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष जमानसिंह के.सी. ले पूर्ण सरसफाइ अभियान मार्फत प्राप्त उपलब्धीले गेरुवाबासीको शान बढाएको प्रति गर्व गर्दै भन्नुभयो “यस समुदायलाई पूर्ण सरसफाइमा कसैले औंला ठड्याउन नसकिने गरी सधै सफा र आफ्नो आनीबानीलाई पनि सधै सरसफाइयुक्त बनाईरहनु होला, दिगोपनमा सधै लागिरहनु होला ।”
“पूर्ण सरसफाइ उन्मुख पहिलो वडा बन्ने धोको छ, तपाईहरुको लगन र परिश्रमले प्राप्त पूर्ण सरसफाइका उपलब्धीहरुलाई देखेर नै म मा यो रहर जागेको हो” उत्तरपुरुवा र पट्वारीपुर समुदायको संयुक्त स्व घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष दयारामचौधरीले भन्नुभयो “ग्रामीण क्षेत्रमा विभिन्न समस्याहरुले घेरिएर विकासमा पछाडि परेको थारु समुदायको वाहुल्यता भएको यस समुदायले पूर्ण सरसफाइको क्षेत्रमा खेलेको भूमिका देश विदेशका लागि अनुकरणीय भैरहेको पाउँदा गर्व महसुस भएको छ, सहयोगी निकाय यु.एन ह्याविटाट, सहजीकरण गर्ने संस्था आई.डि.एस नेपाल र मायुस बर्दियाका कर्मचारी साथीहरु, यो समुदायमा अगुवाई गर्ने समिति, बड्घर, आम जनसमुदायमा सबैमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।”
यस्तै गेरुवा गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष धर्मप्रकाश चौधरीले वडालाई १६ टोलमा विभाजन गरी हरेक वडा सदस्यले चार चार वटा टोल हेर्ने गरी जिम्मेवारी तोकिएको बताउनुभयो । उहाँले आवश्यक विकास यिनै टोल समितिबाट माग भएर आएपछि वडाले सम्बोधन गर्दै जाने बताउनुभयो । “पूर्ण सरसफाइ उन्मुख समुदाय समग्र विकासको सशक्त आधार हो” उहाँले भन्नुभयो ‘यस समुदायले पूर्ण सरसफाइमा खेलेको भूमिका अति नै प्रशंसनिय छ, आवश्यक विकास क्षेत्रमा प्राथमिकता दिएर काम गर्न वडा तत्पर छ ।”
“स्वः घोषणा कार्यक्रम फोहोरमैला र फोहोरी आनीबानी माथिको विजय हो”, यु.एन. ह्याविटाटका जिल्ला संयोजक बिष्णु दवाडीले लोहागढ र पहाडीपुर समुदायको स्वःघोषणा कार्यक्रममा बधाइ तथा शुभकामना मन्तब्यका क्रममा भन्नु भयो “यस समुदायका हरेक व्यक्तिले परिवर्तनका लागि गरेको मिहेनतको फल हो । यही धर्तीलाई स्वर्ग सरी सफा, स्वच्छ र सुन्दर बनाउन खट्ने समुदायका हरेक व्यक्तिहरुको भूमिकाको उच्च प्रसंशा गर्दै यु.एन ह्याविटाट, ग्लोबल स्यानिटेशन फण्ड कार्यक्रमको तर्फबाट हार्दिक बधाईका साथ उत्तरोत्तर प्रगति र दिगोपनाका लागि शुभकामना टक्र्याउछु ।”

“पूर्ण सरसफाइखउन्मुख समुदाय घोषणा सभामा भाग लिई रहदा मेरो शरिरका विभिन्न अंगहरुले फरक कुरा गरिरहेका छन्,” सहजीकरण गर्ने संस्था आई.डि.एस नेपाल र मायुस बर्दियाका तर्फबाट जिल्ला संयोजक तारा बहादुर खातीले पहाडीपुरमा बधाई तथा शुभकामना मन्तब्यका क्रममा भन्नुभयो “मेरो मनमष्तिष्कले यो समुदाय स्वःघोषणा भएको खुशीयालीमा रमाई रहुँ भन्छ, आँखाले सफा सुन्दर ठाउँ हेरिरहुँ भन्छ, फोक्सोले नाकलाई स्वच्छ हावा पठाईरहुँ भन्छ, पाइँलाहरु समुदायमा चालिरहुँ भन्छ, तर मुटु भने धकधक धकधक गरेर जोड जोड सँग चलेर अन्तर आत्मालाई सोध्दैछ ए तारा ! के एक महिनासम्म तँ यहाँ आइनस् भने यिनीहरुले सरसफाइ गरिरहेका होलान् ?”
उहाँले सम्मान स्वरुप शीर निहुँराउदै भन्नु भयो “ आज सम्मानले झुकेको मेरो शीरको सामुन्ने भोलि लाज र आत्म ग्लानीले तपाईहरुले कसैका सामु झुकाउन नपरोस्, तपाईहरुको कारण मेरो मुटुमा यहाँको सम्मान र माया नमरोस् ।”
घोषणा सभामा वडा सदस्यहरु, बडघरहरु, अन्य संघ संस्थाका प्रतिनिधिहरु लगायतले मन्तब्य राख्नु भएको थियो । सबै समुदायले पूर्ण सरसफाइ उन्मुख अबस्थाको दिगोपनाका लागि सामूहिक रुपमा प्रतिबद्धता समेत जनाएका छन् ।


1522 पटक हेरिएको 

