पर्सा : खुला ठाउँमा दिसा गरिरहेको व्यक्ति देख्नुभयो र तत्काल सूचना दिनुभयो भने अब तपाईले पाउनुहुनेछ, २५० रुपैयाँ पुरस्कार । पर्साको छिपहर माई गाउँपालिकाको वडा नं ५ ले खुला ठाउँमा दिसा गरेको सूचना दिने व्यक्तिलाई २५० रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।
वडा कार्यालयले सरसफाइ सम्बन्धी जारी गरेको १३ बुँदे आचारसंहिताको चौथो बुँदामा कुनै व्यक्तिले खुला ठाउँमा दिसा गरेको पाइएमा ५०० जरिवाना लिने र सूचना दिने व्यक्तिलाई जरिवानाको आधा रकम दिने उल्लेख छ।
सरसफाइसम्बन्धी आचारसंहितामा सधैँ चर्पीमा दिसापिसाब गर्नेछु, बाहिर खुल्ला ठाउँमा दिसापिसाब गर्ने छैन, घरको चर्पीलाई नियमित सफाइ गर्नेछु, वडा भित्रका सबै विद्यालय घर कार्यालयमा चर्पी बनाएर प्रयोग गर्नेछौं, वडालाई खुला दिसामुक्त क्षेत्र कायम गरी पूर्ण सफाइ गर्ने जस्ता प्रतिबद्धता उल्लेख गरिएको छ ।
छिपहर माईं गाउँपालिकाको वडा नं ५ भिस्वागाउँ पर्सा जिल्लाको ४९ औँ खुला दिसामुक्त क्षेत्र हो । हालसम्म जिल्लाको पाँच वटा स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् ।
महिलाहरु खुला ठाउँमा दिसापिसाब गर्न जाँदा बलात्कार तथा हिंसाको शिकार हुनुपरेकाले सबैले आ–आफ्नो घरमा चर्पी बनाएर हिंसाबाट बचाउनुपर्ने वडाध्यक्ष असलम आलमले बताउनुभयो ।
६ सय ७२ घरधुरी रहेको वडा नं. ५ लाई पूर्ण सरसफाइका लागि वार्षिक बजेट विनियोजन गरिने र खुला दिसामुक्त कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाइने गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताले बताउनुभयो ।


2424 पटक हेरिएको 

