घर बाहिर शौच गर्न जाँदा सर्लाहीमा २ महिला बलात्कृत

जेठ महिनामा मात्र ५ वटा भन्दा बढी बलात्कारको उजुरी

सर्लाही : सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ७ गणेशिया टोलका दुई महिला घरबाहिर दिसा गर्न जाँदा बलात्कृत भएका छन् । बलात्कृत महिलाले जिल्ला प्रहरी कार्यालय मलंगवामा दोषी उपर कार्वाहीको माग गर्दै जाहेरी दिएका छन् । प्रहरी कार्यालयले बलात्कार सम्बन्धमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिनुभयो ।

‘राती १० बजेतिर दिसा गर्न जाँदा बलात्कृत भएको भन्ने पीडितको जाहेरीको आधारमा अनुसन्धानको काम भइरहेको छ’ उपरीक्षक पोख्रेलले भन्नुभयो ‘पीडितको जाहेरी दर्ता गरेका छौं, अभियुक्तहरु फरार छन् हामी खोजी गरिरहेका छौं ।’

जिल्ला समन्वय समिति सर्लाही का प्रमुख एवं डिवाससीसी सर्लाहीका अध्यक्ष मेथुर चौधरीका अनुसार रातको समयमा घरबाहिर शौच गर्न जाँदा ती महिला बलात्कृत भएका हुन् । एउटा घटना आफ्नै घर नजिक गणेशिया टोलमा भएको र फरार अभियुक्तलाई खोजी गर्ने काम आफू समेत खटिरहेको उहाँले बताउनुभयो ।
‘महिलाहरु दिउँसो घरबाहिर निस्कने चलन छैन, कि बिहानै कि रात परेपछि मात्र दिसापिसाब गर्न बाहिर निस्कन्छन्, त्यही मौका छोपी बलात्कृत भएको हो’ अध्यक्ष चौधरीले भन्नुभयो ।

घरमा चर्पी नहुँदा दिसापिसाब गर्न बाहिर जाँदा महिलाहरु बलात्कृत हुने क्रम तराईमा बढिरहेको छ ।

सर्लाहीमा यो महिनामा मात्र ५ वटा भन्दा बढी बलात्कारको उजुरी परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार