गौरीगञ्ज गाउँपालिका खुल्ला दिसामुक्त र पूर्ण खोप सुनिश्चित घोषणा

 2465 पटक हेरिएको

गौरीगञ्ज (झापा) : झापाको सातौं स्थानीय तहको रुपमा गौरीगञ्ज गाउँपालिका आइतबार खुल्ला दिसामुक्त घोषणा भएको छ । यसअघि तीन नगरपालिका र तीन गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भैसकेका छन् ।

सोही कार्यक्रममा गौरीगञ्ज पूर्ण खोप सुनिश्चित गाउँपालिका समेत घोषणा भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित एवम् खुल्ला दिसामुक्त घोषणा गर्नुभयो ।


८ हजार ७८ घरधुरी रहेको गौरीगञ्जमा खुल्ला दिसामुक्त अभियान थालनी हुनुअघि ३ हजार २ सय १० घरमा सुरक्षित चर्पी रहेका थिए । अभियानको क्रममा बाँकी ४ हजार ८ सय ८६ घरधुरीमा सुरक्षित चर्पीको निर्माण गरी गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । गौरीगञ्जमा गाभिएका साविकका चार गाउँ विकास समितिमध्ये महाभारा यसअघि खुल्ला दिसामुक्त घोषणा भएको थियो भने कोरोबारी, गौरीगञ्ज र खजुरगाछी आइतबार एकसाथ खुल्ला दिसामुक्त घोषणा भएका हुन् ।

घोषणा समारोहमा अध्यक्ष पोर्तेल र जिल्ला समन्वय समिति झापाका उपप्रमुख मीना पराजुलीले गौरीगञ्ज गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भएको प्रमाणपत्र प्रदान गर्नुका साथै खुल्ला दिसामुक्त घोषणाको प्रतीक हरियो झण्डा फहराउनुभएको थियो ।

सोही अवसरमा जिल्ला समन्वय समिति उपप्रमुख मीना पराजुलीले गाउँपालिकाको पूर्ण सरसफाइ मार्गदर्शन २०७५ समेत सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष एवम् गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गाउँपालिकाका बासिन्दाहरुलाई पूर्ण सरसफाइ प्रतिवद्धता एवम् पूर्ण खोप प्रतिवद्धता गराउनुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले सरसफाइ प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि पोर्तेलले भौतिक विकासलाई मात्र विकास भएको ठान्ने प्रवृत्तिका कारण मानवीय र सामाजिक विकास कमजोर हुँदै गएकोमा दुःख व्यक्त गर्नुभयो । “मानवीय र सामाजिक विकास नभएसम्म गाउँमा बनाएका सडकले कुनै पनि ठाउँका बासिन्दामा समुन्नति ल्याउन सक्तैनन्”, उहाँले भन्नुभयो, “जनता रोगी भएसम्म, कुनै पनि सामाजिक संस्कार र मूल्य मान्यता परिस्कृत नभएसम्म हामीले बाल्ने विजुली र बनाउने पुलले पनि जनताको जीवनमा तात्विक अन्तर ल्याउन सक्तैन ।”

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति र जिल्ला समन्वय समिति झापाले यसै आर्थिक वर्षभित्रै सम्पूर्ण स्थानीय तहमा पूर्ण सरसफाइ कार्ययोजना एवम् सरसफाइ तथा वातावरण कार्यविधि बनाउन सहयोग गर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति झापाकी उपप्रमुख मीना पराजुलीले सरसफाइ नै समृद्धि, समुन्नति र स्वास्थ्य रक्षाको मूल बाटो भएकोले अन्य विकासका क्रियाकलापमा सरसफाइलाई सँगसँगै लैजानुपर्ने बताउनुभयो ।

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम झापाका जिल्ला संयोजक विनोद शर्माले कुनै पनि क्षेत्रको नेतृत्वमा रहनेहरुले दायित्व वोध नगर्ने, स्थानीय बासिन्दाले माटोको माया नगर्ने र सरसफाइ प्रवद्र्धनलाई सामाजिक सवाल नठान्ने गरेका कारण झापा अझैसम्म खुल्ला दिसामुक्त हुन नसकेको धारणा राख्नुभयो ।

 

 

 


घोषणा समारोहमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुदन कोइराला, जिल्ला समन्वय समिति झापाका सदस्य चन्द्र सुब्बा, राजनीतिक दलको तर्फबाट विष्णु न्यौपाने, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका प्राविधिक रुद्रबहादुर न्यौपाने, पूर्व जनप्रतिनिधि घनश्याम रिजाल, झापा गाउँपालिकाका स्वास्थ्य संयोजक विकास पौडेल, गाउँपालिकाका उपाध्यक्ष दीपेन्द्र थापा लगायतले सरसफाइ र खोपका विभिन्न पक्षमाथि प्रकाश पारेका पार्नुभएको थियो ।

खुल्ला दिसामुक्त एवम् पूर्ण खोप अभियानमा सहयोग गर्ने महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न संघसंस्था, निकाय र व्यक्तिहरुलाई गाउँपालिकाको तर्फबाट सम्मान गरिएको थियो । यसैगरी खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्ने निकाय ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको साझेदार संस्था सगरमाथा सामुदायिक विकास केन्द्रको तर्फबाट गाउँपालिकालाई सम्मान गरिएको थियो ।

सो अवसरमा कलााकार आयुष घिमिरेले गीत प्रस्तुत गरेका थिए भने स्थानीय कलाकारहरुले सरसफाइ गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार