खानेपानी र सरसफाइको माग गर्दै कैदीबन्दीद्धारा नाराबाजी

 1458 पटक हेरिएको

बझाङ : जेलभित्र खानेपानी तथा सरसफाइको राम्रो व्यवस्था हुनुपर्ने माग गर्दै बझाङ कारागारका कैदीबन्दीले जेलभित्रै नाराबाजी गरेका छन् । खानेपानी र सरसफाइको अवस्था नाजुक हुँदा समेत कारागार प्रशासनले सुधारको लागि चासो नदेखाएकाले आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् । सुरक्षित खानेपानी, व्यवस्थित चर्पी र ढल निकास नहुँदा आफूहरूको स्वास्थ्यमा समस्या पर्न थालेकाले आन्दोलन गर्नुपरेको कैदी बन्दीका नाइके लक्ष्मण रावलले बताउनुभयो ।

धाराबाट फोहोर र धमिलो पानी आउने गरेको र त्यही पानी पनि पर्याप्त नहुने गरेको उहाँले बताउनुभयो । ‘खानेपानी पिउन, नुहाउन, खाना पकाउन, चर्पीमा प्रयोग गर्न, पानी नहुँदा समस्या छ, धाराबाटसङ्लो पानी आएको रेकर्ड छैन होला, पानीसँगै कहिले भातका सिता आउँछ, कहिले लेदोजस्तै फोहोर आउँछ । देख्दै घिनलाग्दो पानी पिउनु परिरहेको छ ।’ नाइके रावलले भन्नुभयो ।

चर्पीमा प्रयोग गरिने सरसफाइका सामग्रीहरु पनि कहिल्यै कारागार प्रशासनले उपलब्ध नगराउने गरेको उनीहरुको आरोप छ । व्यवस्थित चर्पी नभएका कारण खाल्डो एक महिना नपुग्दै भरिएर दिसा पिसाब बाहिर निस्कने र दुर्गन्ध फैलने भएकाले आफूहरुको स्वास्थ्यमा कारागार प्रशासनले खेलवाड गरेको उनीहरुको आरोप छ ।
फोहोरका कारण जिल्ला कारागारभित्र रहेका सबै कैदीबन्दीहरू दिनहुँ जसो बिरामी हुने र आउँ, झाडापाखाला, टाइफाइड जन्डिसजस्ता समस्याबाट कैदीहरू ग्रसित हुँदा पनि कारागार प्रशासनले ध्यान नदिएकाले आन्दोलन गर्नुपरेको कैदी मध्येका एक कैदी युवराज भण्डारीले बताउनुभयो ।

पकाएको खाना समेत नखाई अनशन बस्ने बताएका कैदीहरूले प्रमुख जिल्ला अधिकारीको आश्वासन पाएपछि आन्दोलन स्थगित गरेका छन् । ‘प्रमुख जिल्ला अधिकारीले समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो, हामीलाई चाहिएको पनि समाधान हो, अनि हामीले आन्दोलन स्थगित गर्यौं, कैदीबन्दीका नाइके लक्ष्मण रावलले बताउनुभयो ।

२५ कैदीबन्दी अटाउन सक्ने क्षमता रहेको कारागारमा ८ जना थुनुवा सहित ५४ जना कैदीबन्दी छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार