चारनाथ नगरपालिकाको गौरीपुर खुल्ला दिसामुक्त घोषणा

  विनोद कुमार महतो  1322 पटक हेरिएको

धनुषा : धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं. ११ गौरीपुरलाई विहीबार खुल्ला दिसामुक्त घोषणा गरिएको छ । वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष सत्यनारायण कुंवर दनुवारको अध्यक्षता तथा प्रतिनिधिसभा सांसद बोधमाया यादवको प्रमुख आतिथ्यमा ११ नं. वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

डिवाससिसिका कार्यदल सदस्य उमा सिम्खडाले वडा अध्यक्ष दनुवारलाई गौरीपुर ५७ औं खुल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणाको प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
घोषणासभाको अवसरमा गणेशमान चारनाथ नगरपालिकाका प्रमुख मेयर रामबाबु यादव, उपमेयर मिना कुमारी यादवको विशेष उपस्थिति रहेको थियो ।
घोषणा समारोहमा घोषणासभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद यादवले मधेशको समाजमा खुल्ला दिसामुक्त अभियान आफैमा चुनौतीपूर्ण भएपनि यो कठीन परीक्षा पास गरेकोमा वडाध्यक्ष लगायत सम्पूर्ण अभियानकर्ता र वडावासीलाई धन्यवाद दिनुभयो ।

उहाँले सरसफाइ र स्वच्छताले नै मानिसलाई सुखी र समृद्ध बनाउने भएकाले सरसफाइको अभियानलाई अझ निरन्तरता दिन वडावासीलाई आग्रह गर्नुभयो । दिसा लुकाएर मात्र नहुने भन्दै प्रमुख अतिथि यादवले गाउँ टोल, बाटोघाटोलाई समेत सफा सुन्दर, नमुना बनाउनुपर्नेमा जोड दिनुभयो । यसको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो ।

नगरपालिकाका मेयर यादवले भने चाँडै नगरपालिकालाई समेत खुल्ला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता जनाउनुभयो । खुल्ला दिसामुक्त अभियान अन्तर्गत चारनाथ नगरपालिकामा पहिलो वडाको रुपमा वडा नं.११ गौरीपुरलाई घोषणा गरेर खाता खोलिएकोले अब अभियानको बाटो सहज भएको बताउनु भयो ।
नगरभित्रका सबै वडामा अभियान तिव्रताका साथ संचालन गरिएको र चर्पी निर्माण कार्यले गति लिएकोले अरु वडाहरुपनि धमाधम घोषणा हुुने मेयर यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उपमेयर मिना कुमारी यादवले खुल्ला दिसामुक्त घोषणा भएको वडामा लगतै पूर्ण सरसफाइ कार्यक्रमलाई प्राथमिकताका साथ बजेट छुट्याएर संचालन गर्ने जानकारी दिनुभयो । उहाँले चर्पी बनाएर घोषणा गरेर मात्र नहुने भन्दै अबदेखि सबै वडाबासीलाई नियमित चर्पीमा मात्र दिसा गर्न आग्रह गर्नुभयो । बाहिर दिसा गर्दा मानिसको दिसा मानिसले नै खानुपर्ने र विभिन्न रोगब्याधि लाग्ने भएकाले आफ्नो सरसफाइ आफैले गर्नुपर्ने बताउनुभयो ।

घोषणासभामा स्थानीय, राजनीतिक दल प्रतिनीधि, समाजसेवी, कर्मचारी, महिला, युवा, बालबालिका तथा अभियानकर्मीहरुको व्यापक उपस्थिति रहेको थियो । कार्यक्रममा वडा समितिले प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु, पत्रकार लगायत अभियन्ताहरुलाई दोसल्ला र कदरपत्र सहित सम्मान समेत गरेको थियो ।
आफ्नो वडामा अभियानलाई सफल बनाउन रातदिन अत्यन्त मिहेनतका साथ लाग्नुभएका वडा अध्यक्ष दनुवारले सरसफाइ प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गरिव विपन्नहरुलाई चर्पी बनाउन व्यक्तिगत रुपमा समेत सहयोग गरेको बताउनु भयो । ४०२ घरधुरी रहेको वडा नं.११ गौरीपुरमा खुल्ला दिसामुक्त क्षेत्र घोषणाको लागि २०७४ चैत्र ९ गते डिवाससिसिले चर्पीको अनुगमन गरेको थियो ।

अभियान पूर्व ३१ घरधुरीमा मात्र चर्पी रहेको वडा नं. ११ मा अभियान पश्चात ३७१ घरधुरीमा नयाँ चर्पी निर्माण गरिएको वडासिसिका अध्यष्क्ष समेत रहेका वडा अध्यक्ष दनुवारले जानकारी दिनुभयो । सो वडामा वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजना तथा जि.एस.एफ./यूएन ह्याविट्याटको सहयोगमा जानकी महिला जागरण समाज, फण्डबोर्डको सहयोगमा समाजिक विकास तथा अनुसन्धान केन्द्र (एसडिआरसी) ले अभियानको अगुवाई तथा सहजीकरण गरेको केन्द्रका कार्यकारी निर्देशक राम विलास यादवले जानकारी दिनुभयो । घोषणासभाको अवसरमा सरसफाइ सम्बन्धी नाटक समेत प्रस्तुत गरिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार