बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नं. १ शान्तिपुरमा रहेको जगदम्बिका माध्यमिक विद्यालय सरसफाइमा नमुना बन्दै गएको छ । विद्यालयमा पूर्ण सरसफाइ अभियान सञ्चालन भएपछि सरसफाइको अवस्था सुध्रदै गएको हो ।
विद्यालयमा गठन गरिएको सभ्यता बाल क्लबले सरसफाइ सम्बन्धी क्रियाकलाप सञ्चालन गर्दै आएको छ भने विद्यालयले फूलबारी बनाएको छ, समीको वृक्षको फेदको भागमा स्वागतम लेख्ने, धारा वरिपरि गिट्टी भरेर चिप्लोमा लड्ने जोखिम कम गरिएको छ । यस्तै हिड्ने बाटो बनाएर गिट्टी भरिएको छ भने साना उमेरका विद्यार्थीलाइ लक्षित गरी बहु हात धुने धाराको व्यवस्था गरिएको छ । विद्यालयले सरसफाइ श्रोत केन्द्र बनाउने, सरसफाइ रुटिंग बनाई लागु गर्ने परिपाटीको समेत विकास गरिसकेको छ ।
यसै शैक्षिक सत्र देखि माध्यमिक स्तरको अनुमति प्राप्त गरी कक्षा ९ को पठनपाठन शुरु गरेको विद्यालयमा ९९ छात्र र १२२ छात्रा गरी २२१ जना विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाको सहयोगमा अहिले कम्पाउण्ड तारबार गर्ने र प्रवेशद्वार राख्ने काम भएको छ ।

केही समय अघि विद्यालयको अनुगमनको शीलशीलामा पुग्नुभएका बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले विद्यालय भवन र कम्पाउण्ड जति राम्रो भएपनि सरसफाइयुक्त बानीको दिगो विकास र शैक्षिक स्तर सुधार बढी महत्वपूर्ण हुने बताउनुभएको थियो । उहाँले खानेपानी र सरसफाइको संरचना निर्माण तथा व्यवस्थापनमा विद्यालय परिवार सधै चनाखो भएर लागि रहन समेत सुझाव दिनुभएको थियो । जगदम्बिका माध्यमिक विद्यालय २०२९ सालमा स्थापना भएको पुरानो विद्यालय हो ।


1451 पटक हेरिएको 

