बझाङमा पूर्ण सरसफाइ, महिनावारी स्वच्छता तथा पोषण सम्मेलन

बझाङ : बझाङको तल्कोट गाउँपालिकाले पूर्ण सरसफाइ र महिनावारी स्वच्छता तथा पोषण सम्मेलन गरेको छ । स्थानीय तहलाई पूर्ण सरसफाइयुक्त बनाउन योजना निर्माण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको तल्कोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिद्धराज भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउने बिषयमा बालबालिका, युवा, महिला, शिक्षक विद्यार्थीले दुई दिनसम्म छलफल गरेका छन् । सम्मेलनले बनाएको योजना आगामी गाउँसभाबाट पारित गरी लागु गर्ने तल्कोट गाउँपालिकाले जनाएको छ ।

आगामी तीन वर्षभित्र गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त, छाउपडीमुक्त र कुपोषणमुक्त बनाउन विभिन्न रणनीतिक कार्यक्रमहरु तय गरिएको जिल्ला समन्वय समिति ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सल्लाहकार विष्णु पोखरेलले बताउनुभयो ।

सम्मेलन उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर खड्काले सरसफाइ सम्बन्धी बानी व्यवहार, छाउपडी प्रथाजस्ता अन्धविश्वासहरू सामाजिक विकासको बाधक भएकाले यसलाई हटाउनका लागि स्थानीय तहले गरेको प्रयास महत्वपूर्ण रहेको बताउनुभयो ।

पूर्ण सरसफाइका लागि घोषणापत्र

सम्मेलनले गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउन एक घर एक धारा निर्माण गर्ने, पानीको गुणस्तर परीक्षण गर्ने, पानीका मुहानको संरक्षण र सरसफाइको नियमित व्यवस्था गर्ने घोषणा गरेको छ । यस्तै, महिनावारी भएका बेला गरिने विभेद उन्मूलनका लागि विद्यालय मार्फत समुदायमा चेतना जागरण गर्ने, गाउँपालिका क्षेत्रबाट उत्र्सजन हुने फोहोरको पुनः प्रयोग र व्यवस्थापनका लागि विशेष व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ । घोषणा पत्रमा तीन बर्षभित्र पूर्ण सरसफाइयुक्त, छाउपडी मुक्त र कुपोषणमुक्त स्थानीय तहको घोषणा गर्ने बुँदाहरु पनि समेटिएका छन् ।

गाउँपालिकाका अध्यक्ष लालबहादुर विष्टले गाउँपालिकाको आगामी कार्यक्रम र बजेटले घोषणा पत्रमा समेटिएका कार्यक्रमहरुलाई सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार