बझाङ : झोलामा ल्याप्टप र फाइल बोकेर सामाजिक चेतना अभिवृद्धिका लागि हिड्ने विकासे कार्यकर्ता हर्कबहादुर विष्ट हिजोआज बैठक तथा तालिम स्थलतिर भेटिनुहुन्न । उहाँलाई भेट्न हिजोआज करेसाबारी वा प्लाष्टिक टनेलमा पुग्नुपर्छ । अरुलाई तालिम दिएर सामाजिक चेतनाको कुरा गर्ने हर्कबहादुर व्यवहारिक रुपमा आफैले नै गरेर समाजका लागि केही कुरा देखाउँदै हुनुहुन्छ ।
हो, बझाङको थलारा गाउँपालिका ६ का हर्कबहादुर विष्ट कुनै समय सप्रोस नेपालमा कार्यरत हुनुहुन्थ्यो । सात बर्ष अघि उहाँले सप्रोसको जागिर छाडेर भाडामा जग्गा लिएर व्यवसायिक तरकारीखेती शुरु गर्नुभयो । मानिसको पिसाब संकलन गरेर व्यवसायिक खेती शुरु गर्न थालेपछि अहिले विगत फर्केर हेर्नुपरेको छैन ।
हर्कबहादुर भन्नुहुन्छ ‘अरुको पिसाब भनेपछि मानिसहरु छिछी र दुर्दुर गर्छन् तर मैले विद्यालय, क्याम्पस र बैठक गोष्ठी हुने ठाउँमा समेत पिसाब संकलन गरेर प्लाष्टिक जर्किनमा राख्ने गरेको छु ।’
उहाँले तरकारी खेती नगर्दा सम्म गाउँमा हरियो तरकारी देख्नै पाइँदैनथ्यो । हिउँदमा हरियो तरकारीका रुपमा तोरी र सिस्नु बाहेक केही उब्जाउ नहुने ठाउँमा अहिले हिउँद बर्षा मौसमी तथा बेमौसमी तरकारी फलाएर फलाउनुभएको छ ।
बर्षायाममा आलु, गाँठे मुला फर्सी मात्र फल्ने बारीमा अहिले जगुने, प्याज, टमाटर, खुर्सानी, काँक्रा लगायत तरकारी फलाउनुभएको छ। नमूना कृषक हर्कबहादुरका लागि ग्रामीण जलस्रोत परियोजनाले तालिम र प्लाष्टिक टनेल उपलब्ध गराएको छ ।
उहाँले पाँच रोपनी जमिन भाडामा लिनुभएको छ । वार्षिक १२ हजार रुपैयाँ जमिनको भाडा बुझाउनुपर्छ । मौसमी र बेमौसमी तरकारी खेती गरेर उहाँ बार्षिक दुई लाख रुपैयाँ भन्दा बढी कमाउनुहुन्छ । ‘शुरुका दिनमा मान्छेको पिसाब तरकारी बारीमा प्रयोग गरेको देखेर सबैले कुरा काट्थे, कतिले त पिसाब जम्मा गरेर राखेको जर्किन समेत समेत फुटाइदिने गरेका थिए तर अहिले सबैले राम्रो काम गरेको भन्दै प्रशंसा गर्छन् ।’ सामाजिक दृष्टिकोण बदलिदै गएको बारे विगत सम्झिदै उहाँले भन्नुभयो ।
पिसाबको सट्टा तरकारी
हर्कबहादुर, अरुको पिसाब सित्तै प्रयोग गर्नुहुन्न । अरुले सार्वजनिक चर्पीमा पिसाब गरे पैसा लिन्छन् तर हर्कबहादुर पिसाबको सट्टा तरकारी दिने गर्नुहुन्छ । व्यक्तिगत चर्पीमा २० लिटर पिसाब जम्मा गरिदिनेलाई उहाँको बारीमा फलेका तरकारी मध्ये काँक्रो, जुगेनी, फर्सी वा एक मुठा रायो अथवा मुला दिने गर्नुहुन्छ ।
तरकारी बारी नजिकै राखेको ठूलो ड्रमतिर देखाउँदै उहाँले भन्नुभयो ‘चर्पीबाट ल्याएको पिसाब त्यसमा जम्मा हुन्छ, एक लिटर पिसाबमा चार लिटर पानी मिसाएर तरकारीको बोट वरिपरि लगाउने गरेको छु, यसले मल र पानी दुवैको काम गर्दो रहेछ, तरकारीका लागि त कति राम्रो, राम्रो ।’
‘गैरसरकारी संस्थामा काम गर्दा सबैले चिन्ने, नमस्कार गर्ने भएपनि पाएको तलब जोगाउनै मुश्किल हुन्थ्यो, अहिले बार्षिक दुई लाख रुपैयाँ आम्दानी छ । मैले गाउँमा गरेको यो खेती प्रविधिबाट अरुले पनि सिकेका छन् । एक प्रकारले जागिर गरेर गरेको काम जस्तै हो । तर जागिरमा भन्दा मलाई यसैमा सन्तुष्टि छ’ हर्कबहादुरले हर्षित हुँदै भन्नुभयो ।


2239 पटक हेरिएको 

