रुकुम पश्चिम : सानीभेरी गाउँपालिका–७, फुक्रुटाकुराकी कमला विसी झण्डै २ वर्षदेखि वेफुर्सदिली छिन् । घरधन्दा, छोराछोरीको पढाई व्यवहारको साथै सामाजिक काममा जोडिएपछि उनको व्यस्तता बढेको हो । हरेक महिना समूहको बैठक डाक्ने, दैनिकजसो टोलमा भएको कामकाज र प्रगतिको मूल्याङ्कन गर्ने, काम नगर्नेलाई गर्न लगाउन लगायत उनका थपिएका काम हुन् । सोही ठाउँकी आशाकुमारी रोकाले पनि २ वर्षयता फुर्सदको महसुस गर्न पाएकी छैनन् ।
घरायसी कामपछि सामाजिक काममा डिह्न थालेपछि रोकाको पनि व्यवस्तता बढेकै छ । विसी र रोका मात्रै होइन फुक्रुटोलका २५ जना महिला पनि व्यस्त छन् । उनीहरु आफ्ना दैनिक कामकाजको साथै टोल सरसफाइको अभियानमा एकजुट भएर लागेका छन् । घर,आँगन तथा टोल नै फोहोर हुँदा मानिस विरामी हुनुपर्ने समस्याबाटा छुटकारा पाउन फुक्रुटाकुराका महिलाहरुले टोल सरसफाइ अभियानको नेतृत्व गरेका छन् । टोललाई पूर्ण सरसफाइयुक्त बनाउन महिलाहरु टोलका हरेक घर घरको आँगन, चुल्होदेखि शौचालयसम्म अनुगमन गर्छन् । त्यसको अवस्था अनुसार घरैपिच्छे नम्वर दिने गर्दछन् ।

‘टोल ज्यादै फोहोर भयो, यसले गर्दा हामी विरामी पर्ने र टोल नै दुर्गन्धित हुने भएकाले सरसफाइ अभियान सुरु गरेका हौं,’ सहिद स्मृति टोल विकास समूहकी संयोजक समेत रहेकी विसीले भनिन्, ‘सरसफाइको पहिलो खुड्किलो पार गर्न २ वर्ष बढी लाग्यो ।’ उनको टोलका सबै घरमा पूर्ण सरसफाइका सूचक उल्लेख गरिएको कागज राखिएको छ । अनुगमनको क्रममा भएको प्रगति अनुसार सोही कागजमा नम्वर दिने गरिएको छ । सुधारिएको चुल्हो, फिल्टरको पानीको प्रयोग, शौचालयको सरसफाइ, भाँडा माझने मचाङ र जुठेल्नु, गोठ व्यवस्थापन लगायतका कुराको अनुगमन गरेर उक्त कागजमा नम्वर दिने गरेको संयोजक विसीले बताइन् । उनका अनुसार टोलका सबै घरमा सुधारिएको चुल्हो छ ।
सबैले फिल्टरको पानी पिउछन्, आँगन, शौचालय लगातको वातावरणिय सरसफाइ बढ्दै गएको छ । उक्त समुहकी सदस्य रोकाले आफूहरुको अभियानमा पुरुषहरुले पनि साथ दिइरहेको बताइन् । ‘हामी सरसफाइ अभियानमा हुँदा घर व्यवहार र अन्य काम धान्दिनु भएको छ, हामीलाई त्यसले सहयोग पुगेको छ,’ रोकाले भनिन् ।
महिलाहरुको सरसफाइ अभियानलाई सानीभेरी गाउँपालिका र सुआहारा परियोजनाले सहयोग गरेको छ । गाउँपालिका र सुआहारा परियोजनाले सरसफाइ अभियान सफल बनाउन फिल्टर खदिरका लागि भनेर एक लाख ३५ हजार नगद सहयोग गरेका छन् । विपन्न घर परिवारमा फिल्टर खरिदका लागि उनीहरुले सहयोग गरेको समूहले बताएको छ । गाउँपालिकाले एक लाख नगद र सुआहाराले व्यवहार परिवर्तनका विभिन्न जानकारीमुलक कुराको साथै विपन्न घरधुरीलाई फिल्टर खरिदको लागि ३५ हजार नगद सहयोग गरेको संयोजक विसीले जानकारी दिइन् । महिलाहरुले सुरु गरेको अभियानले पहिलो खुड्कीलो पूरा गरेको छ ।
फुक्रुटाकुरा सफा र स्वच्छ टोल अर्थात सफा स्वच्छ घर तथा पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा भैसकेको छ । फुक्रुटाकुरालाई सफा र स्वच्छ टोल घोषणा गर्दै गाउँपालिका अध्यक्ष नरबहादुर पुनले महिलाको नेतृत्वमा थालिएको सरसफाइ अभियान सफल भैरहेको बताए । गत जेठ २७ गते फुक्रुटाकुरा सफा स्वच्छ घर तथा पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा भएको थियो । ‘धेरै गर्नुभएको छ, यो टोल सरसफाइमा नमूना नै हुने जस्तो गरी काम भएको छ, अरु सहयोग परेपनि गाउँपालिकाले सक्दो सहयोग गर्न तयार छ, गाउँपालिका अध्यक्ष पुनले भने ।
उनले अब टोललाई पूर्ण सरसफाइयुक्त घोषणाको लागि तयारी गर्न आग्रह गरेका छन् । सफा स्वच्छ घर तथा पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणपूर्व सफा र स्वच्छ टोल घोषणा गर्न अनुगमन समितिले घोषणाको अनुमति दिएको थियो । ‘पूर्ण सरसफाइयुक्त टोलका लागि थप काम गर्न सुझाव दिँदै सरसफाइ सप्ताहको अवसरमा फुक्रुटाकुरा सफा स्वच्छ घर तथा पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा भएको छ,’ सुआहारा जिल्ला संयोजक जनकराज भट्टले भने, ‘अब पूर्ण सरसफाइयुक्त टोल घोषणाका लागि पनि हामीले सक्ने सहयोग गर्ने छौं ।’
गाउँपालिमा पहिलो सफा स्वच्छ घर तथा पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा भएपछि फुक्रुटाकुरालाई प्रोत्साहनका लागि उपहारस्वरुप चौतारो बनाइदिने भएको छ । सफा र स्वच्छ टोल घोषणामा अध्यक्ष पुनले टोलका लागि प्रतिक्षालय सहितको चौतारो बनाइदिने घोषणा गरेका छन् ।
स्थानीय तहको सीमाङ्कन नहुँदै साविक सिम्लीका ३, ४ र ५ नम्वर वडामा सरसफाइ सम्बन्धिको विशेष कार्यक्रम चल्दै आएको छ । पूर्ण सरसफाइका लागि चर्पीको गुणस्तर तथा प्रयोग, व्यक्तिगत स्वच्छता, हात धुने स्थान, खानेपानीको सुरक्षा, खानाको स्वच्छता एवं सुरक्षा र घर तथा आँगनको सरसफाइका सूचक पूरा गर्नुपर्ने हुन्छ ।
Sisneonline बाट ।


2060 पटक हेरिएको 

