बाँके : सरसफाइ अभियान शुरु भएको आठ बर्ष पछि बाँके खुला दिसामुक्त जिल्ला घोषणा भएको छ । जिल्लाका ९३ हजार ४२ घरधुरीमा शौचालय निर्माण भई प्रयोगमा आएपछि आज प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नुभएको हो ।
बाँकेको तत्कालीन बागेश्वरी गाउँ विकास समितिलाई २०६७ साल वैैशाख २५ गते खुल्ला दिसामुक्त घोषणा गरेपछि अभियान शुरु भएको थियो । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति बाँले नेपालगन्जमा आयोजना गरेको घोषणा सभालाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री बरालले खुला ठाउँमा दिसापिसाव गर्दा लाग्ने रोगका कारण बर्षेनी राज्यको ठूलो धनराशी खर्च भइरहेको बताउनुभयो ।
उहाँले खुल्ला दिसामुक्त घोषणाले जिल्लाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । खुला दिसामुक्त अवस्थालाई कायम राख्न शौचालय प्रयोग भए नभएको अनुगमन गर्न उहाँले सुझाव दिनुभयो ।
स्थानीय तहका प्रमुख तथा उप प्रमुखले भने खुला दिसामुक्त घोषणा कार्यान्वयनका लागि आ–आफ्नो ठाउँबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेश ३ को नुवाकोटलाई पनि आजै खुला दिसामुक्त घोषणा गरिएको छ ।