भूकम्पले जुराएको स्यानिटरी प्याड बनाउने उद्योग, ९ जनालाई रोजगारी

  लिखिता बराल  752 पटक हेरिएको

धादिङ : भूकम्प गएपछि इन्तु न चिन्तु भएर अरुले दिएको थापेर छाक टार्दै आएका धादिङ सेम्जोङकी मीना तामाङ टहरोमा अडेस लाएर बसिरहनुभएको थियो । मन भित्र खेलिरहने अनेकौं कुराले उहाँलाई एकोहोरो बनाईसकेको थियो । घरी भूकम्पले गुमाएको आफन्तको यादमा आँखाको परेली भिज्थ्यो, घरी आफ्नै अनिश्चित जिन्दगीदेखि वाक्कदिक्क लाग्थ्यो । आम्दानीको स्रोत टुटेपछि कसैले कमाउने बाटो देखाइ दिए पनि हुन्थ्यो नि झैं लागिरहन्थ्यो मनमा ।

 

दिनहँु जसो आउने गैरसरकारी संस्थाहरुले राहतका विभिन्न पोकाहरु सुम्पेर गए पनि आम्दानीको बाटो र जिउने दिर्घकालीन उपायको विषयमा केही कुरा नगर्दा अनिश्चित जिन्दगीले पिरोलिरहन्थ्यो उहाँलाई । ‘यसैगरी अरुले दिएको थापेर कतिन्जेल जिउने, आयआर्जनको लागि कुनै सीपमूलक तालिम दिए पनि हुन्थ्यो झैं लागिरहन्थ्यो’ मीनाले त्यत्तिबेलाको कुरा सुनाउनुभयो ।

जिन्दगी देखि विरक्तिएको बेला मीनाको भेट जर्मन विकास सहयोग (जीआइजेट) सँग भयो । जीआइजेटकी मेघा शर्माको टोलीले भने मीनाकै मनको कुरा सोध्यो ।
यो अस्थायी शिविरमा बसिरहँदा तपाईले आम्दानीको स्रोत के देख्नुभएको छ ? मेघाले सोधेको प्रश्नमा मीनाले फुरुङ्ग हुँदै भन्नुभयो ‘महिलाहरुका लागि स्यानिटरी प्याड बनाउने तालिम दिए देखि त्यसबाट आम्दानी हुने देख्छु ।’

 

मीनाको यस्तो प्रस्ताव सुनेर मेघा पनि चकित हुनुभयो । उहाँले कसरी आम्दानीको स्रोत हुनसक्छ भन्ने बारेमा मीनासँग लामै कुराकानी गर्नुभयो । शिविरमा बस्दा धेरैजसो संघसंस्थाले महिलाहरुका लागि स्यानिटरी प्याड पनि ल्याइदिएको रहेछ । मीनाले गाउँमा भएका महिलाहरुले मासिक प्रयोग गर्दा कति खपत हुन्छ भन्ने कुरा हिसाब निकालिसक्नु भएको रहेछ ।

मीनाको कुरा सुनेपछि माथिल्लो निकायमा कुराकानी गर्ने र खबर गर्ने बताउँदै बिदा हुनुभयो ।

………………………………….

जर्मन विकास सहयोग (जीआइजेट) र मीना अध्यक्ष रहेको सेम्जोङ साना किसान कृषि सहकारी संस्था बीच विभिन्न चरणमा छलफल भयो र अन्त्यमा जीआइजेटले प्याड उत्पादन गर्न तालिम र मेसिन उपलब्ध गराउने र सेम्जोङ साना किसान कृषि सहकारी संस्थाले व्यवसायिक रुपमा स्यानिटरी प्याड उत्पादन गर्ने सम्झौता भयो ।

सम्झौता अनुसार तालिमका लागि जीआइजेटले काठमाडौमै बोलायो । पहिलो दिन मेसिन देखेर थर्ररर कामेको याद अहिले पनि छ मीनाको मानसपटलमा । मीना भन्नुहुन्छ ‘त्यो दिन मेसिन देख्दा नै कसरी चलाउने होला ? लक्ष्य त लिईयो पूरा होला कि नहोला ?भन्ने लागेको थियो ।’

तर मीनाको दृढ संकल्पले तालिम मात्र सफल भएन उहाँले लिएको लक्ष्य पनि सफल उन्मुख छ । अहिले सेम्जोङका महिलाहरु आर्गनिक प्याड बनाएर बेचिरहेका छन् ।

स्यानिटरी प्याडले ९ जनालाई रोजगारी

सन् २०१६ अक्टोबर देखि प्याडको व्यवसायिक उत्पादन थालेको साना सेम्जोङ साना किसान कृषि सहकारी संस्थाले अहिलेसम्म हजारौं प्याड उत्पादन गरेर विक्री गरिसकेको छ । सदरमुकाम धादिङबेसीबाट एक दिनको पैदल दुरीमा पर्ने सेमजोङमा सेनेटरी प्याड उद्योग खुलेपछि ९ जना महिलाले रोजगारी पाएको सहकारी संस्थाकी अध्यक्ष मीना तामाङले बताउनुभयो ।

सेमजोङमै गुणस्तरीय प्याड उत्पादन हुन थालेपछि यसको माग बढेको र अहिले देशका विभिन्न ठाउँमा बजारीकरण गरिसकेको अध्यक्ष तामाङले बताउनुभयो । उहाँका अनुसार एक प्याकेट प्याडको ८० रुपैयाँ पर्छ ।

भारत तथा चीनबाट आयातित प्याडभन्दा सस्तो र गुणस्तरीय पनि भएकाले प्याडको माग बढ्दै गएको अध्यक्ष तामाङले बताउनुभयो । बाहिर किनेको प्याडभन्दा गाउँमै उत्पादन भएको निकै गुणस्तरीय रहेको र यसको कच्चा पदार्थ भने भारतबाटै आयात गरिएको उहाँले बताउनुभयो ।

सेम्जोङमा उत्पादन हुने प्याड अहिले अर्गानिक प्याडको नामले परिचित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार