कचनकवल (झापा) : नेपालको जगको रुपमा चिनिने सबैभन्दा होचो भूभागमा रहेको कचनकवल स्तम्भमा खुल्ला दिसामुक्तको झण्डा गाडिएको छ । हाल कचनकवल गाउँपालिका, वडा नं. ४ मा पर्ने साविक केचना गाविसमा नेपालकै सबैभन्दा होचो भाग हो । कचनकवल समुन्द्र सतहदेखि ५८ मिटरको उचाइमा रहेको छ । साविक केचना गाविस खुल्ला दिसामुक्त घोषणा भएसँगै सो स्तम्भमा खुल्ला दिसामुक्तको झण्डा फहराइएको हो ।
कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमले साविक केचना गाविस खुल्ला दिसामुक्त भएको घोषणा गर्नुभयो । उहाँले खुल्ला दिसामुक्त घोषणाको प्रतीक हरियो झण्डा फहराउनुका साथै सो झण्डा केचनाका वडाअध्यक्ष परमानन्दसिं राजवंशीलाई हस्तान्तरण गर्नुभयो ।
सो झण्डालाई जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यहरु रुद्रबहादुर न्यौपाने, विनोद शर्मा, रुद्र सिटौला, सोमनाथ आचार्य, महेन्द्र कार्की लगायत स्थानीय सरसफाइ अभियानकर्ताहरु र वडाका प्रतिनिधिहरुले कचनकवल स्तम्भमा पु-याउनुभएको थियो ।
सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष आलमले कचनकवलको विकासका लागि आफूले दिउँसै सपना देखेको र सो सपनालाई पूरा गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । “मैले निदाएर होइन, गाउँको समृद्धिका लागि सचेततापूर्वक सपनना देखेको छु”, खुल्ला दिसामुक्त घोषणा समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष आलमले भन्नुभयो, “मेरो पहिलो सपना झापाको सुदूर दक्षिणमा रहेको कचनकवललाई खुल्ला दिसामुक्त गराउने थियो, अबको एक हप्तामा यो सपना पूरा हुन्छ ।”
दिगो सरसफाइमा नै समुदायको समुन्नति निर्भर रहने बताउँदै अध्यक्ष आलमले गाउँपालिकालाई आफूले गरेको फोहर आफैले सफा गर्ने सभ्य नागरिकको बसोबास भएको स्थानको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका झापा जिल्ला संयोजक विनोद शर्माले सुदूर दक्षिणको कचनकवल गाउँपालिकामा पर्ने केचनाले खुल्ला दिसामुक्त हुन बाँकी विकसित स्थानहरुलाई चुनौति थपिदिएको उल्लेख गरे । “केचनालाई खुल्ला दिसामुक्त गर्न सकिदैन भन्ने भद्रपुर, दमक र मेचीनगरका लागि यो राम्रो सवल हो”, उहाँले भन्नुभयो, “अब गाउँपालिकालाई नै खुल्ला दिसामुक्त घोषणा गरी कार्यपालिकाले पूर्ण सरसफाइ कार्यक्रम समेत लागू गर्नुका साथै गाउँपालिकालाई नै सरसफाइमा नमूना बनाउनुपर्छ ।” कचनकवल नेपालको सबैभन्दा होचो भागमात्र नभएर समृद्ध नेपाल निर्माणको जग भएको समेत उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका रुद्रबहादुर न्यौपाने, विराट सामुदायिक अध्ययन केन्द्रका रुद्र सिटौला, कचनकवल गाउँपालिका, वडा नं. ६ का अध्यक्ष कूलबहादुर कार्की, नेपाल रेडक्रस सोसाइटीका हारुन रसिद, वडा सचिव सोम पौडेल, मदन भण्डारी, तारा लम्साल, बसन्त गणेश लगायतले सरसफाइ प्रवद्र्धनका बारेमा प्रकाश पार्नुभएको थियो ।
घोषणा समारोहमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको तर्फबाट साविक केचनालाई खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गरिएको थियो ।
ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको साझेदार साझेदार संस्था विराट सामुदायिक अध्ययन केन्द्रले खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्नुअघि लिइएको आधारभूत सर्वेक्षण अनुसार केचनामा रहेका १ हजार ३ सय २७ घरधुरीमध्ये ३ सय ५० घरमा निजी सुरक्षित चर्पी रहेका थिए भने ७३ घरले संयुक्त रुपमा चर्पीको प्रयोग गरिरहेका थिए । बाँकी ९ सय ४ घरधुरीमा चर्पीको पहुँच थिएन । अभियानको क्रममा प्रत्येक घरधुरीमा सुरक्षित चर्पीको पहुँच पुगेको वडाध्यक्ष राजवंशीले बताउनुभयो ।
७ वडा रहेको कचनकवलका वडा नं. ४ (केचना), ६ (बनियानी) र ७ (वालुबाडी) खुल्ला दिसामुक्त घोषणा भैसकेका छन् । यसैगरी वडा नं. १ (घेराबारी), वडा नं. ५ (पाठामारी) र वडा नं. २ (पथरिया) खुल्ला दिसामुक्त घोषणाको तयारीमा रहेका छन् । वडा नं. ३ मा बाँकी रहेका घरधुरीमा एक साताभित्र चर्पी बनिसक्ने गाउँपालिका अध्यक्ष आलमले जानकारी दिनुभयो ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अनुसार ९ हजार ६६ घरधुरी रहेको कचनकवल गाउँपालिकामा खुल्ला दिसामुक्त अभियान थालनी हुनुअघि ३ हजार ४ सय ३ घरमा सुरक्षित चर्पी रहेका थिए । अभियानको क्रममा ५ हजार ६ सय १३ घरमा सुरक्षित चर्पी निर्माण भएका छन् ।