बिर्तामोड : बिर्तामोड नगरपालिका वडा नम्बर १० बुधबार खुला दिसामुक्त घोषणा भएको छ । नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले वडालाई खुला दिसामुक्त भएको घोषणा गर्नुभयो ।
साविक बिर्तामोडका सबै वडा खुला दिसामुक्त घोषणा भइसकेका छन् भने बिर्तामोडमा गाभिएको गरामनीमा पर्ने चार वडामध्ये ३ वडा खुला दिसामुक्त घोषणा भए । बाँकी रहेको वडा नम्बर ७ मा समेत सबै घरधुरीमा चर्पी निर्माणको कार्य दुई दिनभित्रमा सकिने वडा नम्बर ७ का अध्यक्ष गंगाबहादुर भट्टराईले जानकारी दिनुभयो । बिर्तामोडको वडा नम्बर ७ खुला दिसामुक्त घोषणा भएसँगै नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने बाटो खुल्नेछ । नगर प्रमुख शिवाकोटीले एक साताभित्रै बिर्तामोड नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिने बताउनुभयो ।
वडा नम्बर ७ खुला दिसामुक्त घोषणासँगै बिर्तामोड खुला दिसामुक्त घोषणा गर्ने झापाको चौथो नगरपालिका र आठौँ स्थानीय तह बन्नेछ । बुधबार खुला दिसामुक्त घोषणा गरिएको वडा नम्बर १० मा २०७१ सालदेखि खुला दिसामुक्त गर्न विभिन्न समिति गठन गरिए पनि अभियान सञ्चालन हुन नसकेकोमा २०७४ माघदेखि तीव्रताका साथ अभियानलाई अघि बढाइएको घोषणा समारोहमा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ ।
ग्लोबल स्यानिटेसन फन्ड कार्यक्रमको सहयोगमा सहारा नेपालले खुला दिसामुक्त अभियान सहजीहरण गर्नुअघि लिइएको आधाररेखा सर्वेक्षणअनुसार १ हजार ४ सय ७६ घरधुरीमध्ये १ हजार ८६ घरधुरीमा सुरक्षित शौचालयको पहुँच रहेको र ३ सय ९० घरमा सुरक्षित चर्पीको पहुँच नभएकोमा अभियानको क्रममा थप घरसमेत गरी ४ सय २२ घरधुरीमा सुरक्षित चर्पीको निर्माण भएको सहजकर्ता नमिता बस्नेत काफ्लेले बताउनुभयो ।
प्रतिवेदनअनुसार २०७१ देखि २०७३ सम्म सरसफाइका लागि समिति गठन र पुनर्गठनमा नै समय बितेको देखिन्छ । ‘तीन वर्षसम्म तथ्यांक संकलन र सामान्य सचेतनाका क्रियाकलापबाहेक उल्लेख्य केही हुन नसकेको’ प्रतिवेदनमा उल्लेख छ ।
घोषणा समारोहमा बोल्दै नगर प्रमुख शिवाकोटीले केही दिनभित्रै बिर्तामोड सभ्य र सुसंस्कृत नगरपालिकाको पहिचान दिँदै खुला दिसामुक्त घोषणा गरिने बताउनुभयो । निरन्तरको सहजीकरणबिना सामाजिक परिवर्तनका अभियान सफल नहुने बताउँदै उहाँले भन्नुभयो, ‘यहाँ पनि सहजकर्ताहरुको निरन्तर सहजीकरण नभएको भए खुला दिसामुक्त अवस्था हासिल हुन सक्ने थिएन ।’
वडाअध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा ग्लोबल स्यानिटेसन फन्ड कार्यक्रमका जिल्ला संयोजक विनोद शर्मा, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका रुद्रबहादुर न्यौपाने, सहारा नेपालका खुला दिसामुक्त अभियान संयोजक किसन गौतम, सरसफाइ समितिका संयोजक चेतानन्द निरौला, बिर्तामोड–५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, नेपाल कम्युनिष्ट पार्टीका रिमानभोज लोक्ताम, महेन्द्रज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर सुब्बा, बिर्तामोड ७ का अध्यक्ष गंगाबहादुर भट्टराई, कार्यपालिका सदस्यहरु गीता पोखरेल, दीपिका सिवा लगायतले बोल्नु भएको थियो ।
अध्यक्ष दुर्योधन गुरुङले पूर्ण सरसफाइ प्रतिबद्धता गराउनु भएको सो कार्यक्रममा खुला दिसामुक्त अभियानमा सहयोग गर्ने संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।


1594 पटक हेरिएको 

