
काठमाडौ : बजारमा पाइने अनेक प्रकारका स्यानिटरी प्याडको विकल्पमा पटक पटक प्रयोग गर्न मिल्ने कपडाको प्याड बजारमा पाइन थालेको छ । विभिन्न संघसंस्थाले दिएको तालिमबाट गाउँघरमा समेत अहिले स्यानिटरी प्याडको उत्पादन भइरहेको छ ।
पटक पटक प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड डा. गरिमा श्रेष्ठले समेत बनाउन थाल्नुभएको छ । महिलामा कतिपय रोग उनीहरुले प्रयोग गर्ने प्याडको कारण पनि हुने गरेकाले यसलाई कम गर्न स्यानिटरी प्याडको निर्माण र यसको प्रयोगबारे जनचेतना जगाउँदै आएको उहाँले बताउनुभयो ।
यस्तो प्याडको प्रयोगबाट कम खर्चमा स्वास्थ्य सुरक्षाका साथै प्याडको कारण हुन सक्ने विभिन्न संक्रमणबाट छुटकारा पाउने उहाँको भनाइ छ । उहाँले गाउँघरमा पुरानो तरिकाले प्रयोग गरिने कपडाको प्रयोगलाई पनि स्वस्थकर तरिकाले प्रयोग गर्न सकिने बताउनुभयो ।
एक पटक प्याड प्रयोग गरेको प्याडलाई साबुन पानीले राम्रोसँग धोएर घाममा सुकाउने र सुकेपछि आइरन गरेर प्रयोग गर्न सकिने उहाँको भनाइ छ । ‘आइरन नभएको घरका परिवारले आगोमाथि निकै बेर सेकाएर प्रयोग गर्न सकिन्छ, प्याडको प्रयोगपछि धोएर फेरि प्रयोग गर्न सकिने हुनाले वातावरण प्रदुषणको सम्भावना कम रहन्छ, यस्तो प्याडको प्रयोगबाट महिलामा विभिन्न संक्रमणको जोखिम पनि कम हुन्छ’ उहाँले भन्नुभयो ।
डा. श्रेष्ठले केही समय अघि माउन्ट ग्लोरी ईन्टरनेशनल बोर्डिङ्ग स्कुल बसुन्धारामा कपडाको प्याडको पुनः प्रयोग बारे बालिकालाई प्रशिक्षण समेत गराउनुभयो । प्रशिक्षणमा सहभागी बालिकाहरुलाई स्यानिटरी प्याड बनाउने तरिका, प्रयोग गर्ने विधि लगायत फाइदा बारे जानकारी गराउनुभएको थियो ।


3332 पटक हेरिएको 

