सरसफाइ र स्वास्थ्यमा ध्यान दिने आमालाई सम्मान

दैलेख : दैलेखको नारायण नगरपालिकाले नवजात शिशु र आफ्नो व्यक्तिगत सरसफाइ र स्वास्थ्यमा ध्यान दिने आमालाई पुरस्कृत गरेको छ । नगरपालिकाले गर्भवती आमाले नियमित स्वास्थ्य जाँच गरेको, नियमित खोप लगाएको, गर्भावस्थामा बच्चाको चिन्ता गरेको, भारी बोक्ने र जोखिमपूर्ण काम नगरेको र बच्चा जन्माइसकेपछि नवजात शिशु र आफ्नो सरसफाइमा ध्यान दिएको जस्ता सूचकको आधारमा जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा ७५ जना आमालाई पुरस्कृत गरिएको हो ।

ती आमालाई असल आमाको रुपमा छनौट गरी नगद दुई हजार रुपैयाँ र प्रमाणपत्र सहित सम्मान गरिएको नगरपालिकाका स्वास्थ्य प्रमुख लालबहादुर खड्काले जानकारी दिनुभयो ।

कार्यक्रमका लागि पहिलो नगरसभाबाट बजेट विनियोजन गरी दोस्रो नगरसभाबाट ६ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

नगरप्रमुख रत्नबहादुर खड्काले असल आमा सम्मानले अन्य आमालाई पनि प्रेरणा दिने बताउनुभयो । उहाँले बालबालिकाको गुणस्तरीय स्वास्थ्यमा सुधार गर्न बच्चालाई पोषणयुक्त खाद्यवस्तु उपलब्ध गराउने कार्यक्रम यस वर्षदेखि सञ्चालन गरिएको जानकारी दिनुभयो ।

नगर उपप्रमुख सावित्री मल्लले यस्तो कार्यक्रमबाट नवजात शिशु र आमाको सफाइ र स्वास्थ्यमा ध्यान दिन प्रेरणा मिल्ने बताउनुभयो । उहाँले नवजात शिशुको स्वास्थ्य र सरसफाइ सम्बन्धीका कार्यक्रमले रोगबाट मुक्त राख्न सकिने धारणा व्यक्त गर्नुभयो ।
यस्ता कार्यक्रमलाई भविश्यमा समेत निरन्तरता दिने उहाँको प्रतिबद्धता थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार