सन् २०२२ सम्ममा भक्तपुरलाई पूर्ण सरसफाइ उन्मुख बनाइने

जिल्लाको सरसफाइ रणनीतिक योजना सार्वजनिक

भक्तपुर : भक्तपुर जिल्लालाई आगामी ५ बर्षभित्र पूर्ण सरसफाइ उन्मुुख जिल्ला बनाइने भएको छ । सन् २०२२ सम्ममा जिल्लालाई पूर्ण सरसफाइ उन्मुुख जिल्ला बनाउने लक्ष्य सहितको रणनीतिक योजना सार्वजनिक गरेको हो ।


भक्तपुरलाई खुला दिसामुक्त घोषणा गरेको पाँच बर्ष पछि शुक्रबार जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति भक्तपुरले पाँच बर्षे रणनीतिक योजना सार्वजनिक गरेको हो । स्मरण रहोस् सरसफाइ गुरुयोजना २०६८ पनि यही दिन तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले सार्वजनिक गर्नुभएको थियो ।

सरसफाई योजना सार्वजनिकीकरण कार्यक्रममा जिल्लाका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधीहरु र अन्य सरोकारवालाले जिल्लाको योजनालाई सार्थक बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले हनुमन्ते सरसफाइ महाअभियान शुरु भइसकेको र अब सबै प्रकारका खुल्ला फोहोर व्यवस्थापन गर्न तीन वटै तहका जनप्रतिनिधीहरुले सरसफाइलाई पहिला प्राथमिकतामा राखेर भक्तपुरका विकासका गतिविधिहरु सञ्चालन गरिने बताउनुभयो ।

उहाँले भक्तपुरलाइ सरसफाइयुक्त जिल्ला बनाउने अभियान स्वरुप विभिन्न शिर्षकमा बजेटहरु समेत बिनियोजन भइसकेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश ३ का सांसद शशिजंग थापाले प्रत्येक नागरिकले आफ्नो घरभित्रको फोहोर आफैं सफा गर्ने र त्यसको सही व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरसफाइ राज्यको दायित्व भन्दा पनि व्यक्ति–व्यक्ति आफैले आफ्नो वरपरको क्षेत्र सफा राख्नुपर्ने भन्दै भन्नुभयो ‘म मेरो घर र वरपरको सरसफाइ आफै गर्ने गर्छु, सरसफाइको लागि म अरु कसैको मुख ताक्दिन ।’

कार्यक्रममा प्रदेश ३ का सांसद राजेन्द्रमान श्रेष्ठले मानिसको मानसिकता, मन र सोच्ने शैली सफा हुन सक्यो भने मात्र घर र समाज वरपर पनि सफा हुने बताउनुभयो । उहाँले सरकारले २०३० सम्ममा मुलुकलाई पूर्ण सरसफाइ युक्त बनाउने भने पनि हाम्रो सार्थक प्रयासले अबको ५ बर्षभित्र पूर्ण सरसफाइयुक्त जिल्ला बनाउन सकिने बताउनुभयो ।

अर्का प्रदेश सांसद रजनी जोन्छेले राजनीतिक प्रतिशोध नराखी सबै एक ढिक्का भएर सरसफाइ अभियानलाइ सार्थक बनाउन एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख एवम जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति भक्तपुरका अध्यक्ष नवराज गेलालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा भक्तपुरका जिल्ला अध्यक्ष बचन देउजा, नेपाली कांग्रेस भक्तपुरका सह–सचिव किरण न्यौपाने, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, खानेपानी क्षेत्रिय अनुगमन तथा सुपरिवेक्षण कार्यालयका प्रमुख नन्दलाल बन्जाडे, चाँगुनारायण नगरपालिकाका उपप्रमुख वीना बास्तोला, राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देबेन्द्र झा, जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख सिवेन्द्र झा लगायतले आगामी पाँच बर्षभित्रमा भक्तपुरलाई पूर्ण सरसफाइयुक्त बनाउने अभियानमा सक्रिय भएर कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका सहभागिहरुले पूर्ण सरसफाइ रणनीतिक योजना सार्वजनिक भएपछि वडा, नगर र जिल्ला स्तरिय कार्यक्रमहरुमा सरसफाइ अभियानलाई प्राथमिकता दिने बताउनुभयो ।

सो अवसरमा सरसफाइ रणनीतिक योजना निर्माण गर्न भूमिका निर्वाह गर्ने व्यक्तिहरु, प्राविधिक समूह तथा सरसफाइ अभियानमा महत्वपूर्ण योगदान गर्ने बिभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो ।

जिल्लाको रणनीतिक योजना सार्वजनिक गर्नु अघि चाँगुनारायण नगरपालिकाले गत भदौ ७ गते नै पूर्ण सरसफाइ रणनीतिक योजना–२०७५ सार्वजनिक गरिसकेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार