सशर्त अनुदानको रकमबाट खानेपानी मन्त्रालयका कर्मचारीलाई तलब

काठमाडौ : नयाँ आर्थिक बर्ष सुरु भएपछि अहिलेसम्म पनि तलब भत्ता भुक्तानी नपाएका खानेपानी मन्त्रालय मातहतका कर्मचारीहरुले अन्ततः सशर्त अनुदानबाट तलब भत्ता पाउने भएका छन् । सरकारले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय मार्फत साउन देखि असोजसम्मको तलब र दसैं भत्ता भुक्तानी दिने व्यवस्था मिलाएको हो ।

मुलुक संघीयतामा गएपछि डिभिजन तथा सवडिभिजन कार्यालयहरु खारेज हुँदा आर्थिक व्यवस्थापनमा समेत समस्या भएपछि खानेपानी मन्त्रालय मातहतका कर्मचारीहरुलाई तलब भत्ताकै लागि आर्थिक समस्या भएको थियो । तलब भत्ताकै लागि आर्थिक अभाव भएपछि देशभरिका डिभिजन तथा सव डिभिजन कार्यालयहरुले खानेपानी तथा ढल निकास विभाग मार्फत तालुक मन्त्रालयलाई चिठी लेखेको थियो ।

मन्त्रालयले असोज ११ गते खानेपानी तथा ढल निकास विभाग र अन्तर्गतका डिभिजन कार्यालयहरुबाट प्राप्त समस्या दर्शाउदै कर्मचारीहरुको तलब भत्ता भुक्तानीको व्यवस्था गर्न अर्थमन्त्रालयमा पत्राचार गरेको थियो ।

७७ वटै जिल्लामा रहेका डिभिजन कार्यालयहरुमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी र चालु आर्थिक बर्षको स्वीकृत अस्थायी दरबन्दीका करार सेवाका कर्मचारीहरुको तलब भत्ता तथा चाडपर्व खर्च बापतको रकम सम्बन्धित प्रदेशमा हन्तान्तरण भएको सशर्त अनुदानको रकमबाट सम्बन्धित प्रदेश मन्त्रालयँसग समन्वय गरी भुक्तानी गर्ने व्यवस्था मिलाउन असोज १७ गतेको मन्त्रीपरिषद बैठकले निर्णय गरेको थियो ।

मन्त्रीपरिषदले गरेको निर्णय बमोजिम अर्थमन्त्रालयले खानेपानी मन्त्रालयलाई परिपत्र गरेपछि खानेपानी मन्त्रालयको सचिव स्तरीय बैठक बसी भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा पत्राचार गरेको थियो ।

अन्ततः खानेपानी तथा ढल निकास विभाग, खानेपानी मन्त्रालय, अर्थमन्त्रालय, क्षेत्रीय अनुुगमन तथा सुपरिवेक्षण कार्यालयको समन्वयमा प्रदेश तहमा विनियोजित सशर्त अनुदानबाट तलब भत्ता खुवाउन प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालय सहमत भएको हो ।

साउन देखि असोजसम्मको तलब र दसैं भत्ता पाउने भएपछि पैसाकै कारण खानेपानी मन्त्रालय मातहतका कर्मचारीको दसैं खल्लो नहुने भएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार