बाहिरकाले काठमाडौ छाडेपछि मेलम्ची आए जस्तै

काठमाडौं : काठमाडौ महानगरपालिका –९ गौशालाकी सजना सापकोटाको धारामा फूलपाती यता खानेपानी टुटेको छैन । अघि पछि ६ दिन बिराएर पानी आउने धारामा चौबीसै घण्टा पानी आएपछि उहाँ चकित हुनुहुन्छ ।

दिनहुँ जसो पानी आएपछि काठमाडौ महानगरपालिकाका ३२ खरिबोटकी सानु महर्जनसँग पानी भर्ने भाँडाको समेत अभाव भएको छ । अघिपछि पानी भण्डारण गरेर राख्ने सबै पानीको भाँडा भरिएका छन् ।

अघि पछि कोठामा बस्ने सबैलाई पानीको बाँडफाँट गरेर दिनुपर्दा भनेजत्ति पानी नहुने घरका सबै भाँडा भरिएपछि सानु महर्जनको परिवारलाई मेलम्ची आए जस्तै भान भएको छ । महर्जन भन्नुहुन्छ ‘खानेपानीको माया लाग्छ, सबै भाँडा भरिसके, अब धारा बन्द गरुँ अन्त जान्छ, नगरुँ भरिएर जान्छ मलाई त मेलम्ची आए जस्तै भइरहेको छ ।’

काठमाडौ उपत्यकामा बाहिर जिल्लाबाट आएर बसोबास गर्दै आएका बासिन्दा आ– आफ्नै जिल्लामा फर्केपछि माग कम भएकाले खानेपानी पर्याप्त भएको हो । काठमाडौ उपत्यकामा खानेपानी आपूर्ति गर्दै आएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले आपूर्ति नबढाएपनि उपभोक्ता कम भएकाले काठमाडौमा खानेपानी सबैलाई पुगेको हो ।

दशैं मनाउन काठमाडौ उपत्यकाबाट २२ देखि २४ लाख मानिस बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अहिले काठमाडौ उपत्यकाका स्थायी बासिन्दा र छिटपुट बाहिरका बासिन्दा छन् ।

काठमाडौं उपत्यकामा सामान्य अवस्थामा दैनिक खानेपानीको माग ४१ करोड लाख ५० करोड लिटर छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले दैनिक करिब ११ करोड लिटर पानी वितरण गर्दै आएको छ । ती मध्ये करिब २० प्रतिशत पानी चुहावट हुन्छ ।

तर अहिले काठमाडौ उपत्यकाको आधा जनसंख्या बाहिर गएका छन् । जसका कारण साबिककै पानीले माग धानिरहेको केयुकेएलले जनाएको छ ।

२०७५ सालको दशैंमा उपत्यकाबासीलाई मेलम्चीको पानी उपहार दिने खानेमन्त्री बीना मगरले गरेको वाचा पूरा नभएपनि खानेपानी पर्याप्त पाउँदा उपभोक्ताले भने मेलम्ची आएकै महसुस गरेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार