सुख्खाग्रस्त कुम्मायकमा किनेको पानीले दशैं मनाउँदै

पाँचथर : पाँचथरको कुम्मायकवासीले पानी किनेर दशैँ मनाएका छन्। पानीको चर्को समस्या बेहोर्दै आएका कुम्मायकबासीले गाउँपालिकाको ट्याङ्कर र ट्याक्टरले ड्रममा भरेर ल्याएको पानी किनेर दशैँ मनाएका हुन्। गाउँपालिकाको ट्याङ्कर र ट्याक्टरले वितरण गर्ने पानीलाई प्रति लिटर ६६ पैसा पर्छ।

अरू बेला भन्दा पनि दशैँमा बढी पानी खपत हुने भएकोले गाउँपालिकाले यासोक र माङ्जाबुङको सीमा हुँदै बग्ने छोरुङ्गा खोला र रानीगाउँका धर्म ढकालको जग्गामा रहेको मुहानको पानी गाउँपालिकावासीलाई वितरण गर्दै आएको हो। पानी पाउन भने उपभोक्ताहरूले गाउँपालिकाको कार्यालयमा पुगी नगद बुझाएर रसिद लिने गरेका छन्।

उपभोक्ताको मागअनुसार गाउँपालिकाले गाउँगाउँमै ट्याङ्कर र ट्याक्टर लगेर पानी वितरण गर्दै आएको छ। कुम्मायक-१, खाल्डेकी शिला सेर्मा राईले दशैँको लागि चारवटा ठूल्ठूला ड्रममा पानी किनेकी छन्। एक हजार २७५ रुपैयाँमा किनेको पानीले दशैँ टर्ने र तिहारमा पनि पानी आवश्यक हुने भएकाले छिट्टै गाउँपालिकाको कार्यालयमा पुगेर रसिद कटाउने बताइन्।

‘लत्ताकपडा र भाँडाकुँडा धुन भनेर पानी किन्यौँ, प्रतिड्रम तीन सय रुपैयाँ पर्छ’ उनले भनिन्, ‘तिहारको लागि किन्न बाँकी छ, छिट्टै गाउँपालिकामा पैसा बुझाएर रसिद कटाउँछु।’ सुख्खाग्रस्त स्थानीय तह कुम्मायक गाउँपालिकामा पानीको केही वर्षदेखि चर्को समस्या छ। मूल फुट्ने गरी वर्षात् नहुँदा कुवाहरू सुकेका छन् भने मुहान सुक्दै गएपछि धारामा पनि पानी कम आउने गरेको कुम्मायकवासी बताउँछन्। गाउँपालिकाको केन्द्र रहेको यासोक बजारमा देउराली खानेपानी आयोजनाले वितरण गर्दै आएको पानीले बजारबासीको पानीको माग धान्न छाडेको छ।

गाउँपालिका २ बाहेकका वडाहरूमा देखिएको खानेपानी समस्यालाई अल्पकालीन रूपमा समाधानका लागि गाउँपालिकाले ट्याङ्कर र ट्याक्टरमार्फत् पानी वितरण गरेपछि गाउँपालिकावासी हर्षित पनि छन्। कुम्मायकको केन्द्र यासोक बजारमा हिमाल होटल सञ्चालन गर्दै आएका केशव थापाले पानी किन्न पाउँदा खुशी भएको बताए।

दशैँमा होटलमा पानी बढी आवश्यक हुने र गाउँपालिकाले माग गरे जति ६६ पैसाको दरले प्रतिलिटर पानीको दस्तुर बुझाएपछि उपलब्ध गराउँदै आएको बताए। ‘पानीको उपलब्धता सडक पुगेको क्षेत्रको घरघरमा छ, गाउँपालिकाले राम्रो गर्‍यो’ उनले भने, ‘दशैँ जस्तो ठूला चाडमा पानीको समस्या बेहोर्नु परेन।’

गाउँपालिकाको कार्यालयले जनाएअनुसार कुम्मायकमा दैनिक एक लाख ५० हजार रुपैयाँ लिटर पानी आवश्यकता पर्दछ। यद्यपि, देउराली खानेपानी आयोजनाबाट ६५ हजार लिटर मात्रै पानी उपलब्ध हुने गरेको छ। बाँकी पानी भने गाउँपालिकाले ट्याङ्कर र ट्रयाक्टरद्वारा वितरण गर्दै आएको हो। यसरीवितरीत पानीले नै कुम्मायकवासीले दशैँ मनाउँदै आएका छन्।

कुम्मायक–४ तिङदेनका जीवन शंकरले केही साताअघि दाजु रमेशको निधन हुँदा गाउँपालिकाबाट २ हजार लिटर पानी किन्न पाउँदा खुशी भएको बताए। ‘गाउँपालिकाले शुभ र अशुभ संस्कार हुने घरलाई पहिलो प्राथमिकता दिएर पानी उपलब्ध गराउँदो रहेछ’ उनले भने, ‘पानी किन्नै भए पनि पाइयो र काम सकाइयो।’

कुम्मायकको रानीगाउँ, यासोक र स्याबरूम्बाका अधिकांस स्थानीयवासीलाई हरेक चाडपर्वदेखि शुभ र अशुभ संस्कारमा पानी किन्नु पर्ने बाध्यता छ। गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले गाउँपालिकावासीले बेहोर्दै आएको पानीको समस्यालाई अल्पकालीन रूपमा समाधान गर्न ट्याङ्कर र ट्याक्टरबाट पानी उपलब्ध गराएको बताए। कुम्मायकमा पानीकै कारण पनि बसाइँ सर्ने दर उच्च रहेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार