काठमाडौ : केन्द्र सरकारले नै फोहोर विसर्जनस्थल (ल्यान्डफिल साइट) निर्माण गरिदिनुपर्ने काठमाडौँ महानगरपालिकाको माग छ ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्यले स्थान निर्माण गर्ने जिम्मा आफ्नो नभएको बताउँदै केन्द्र सरकारले निर्माण गरेपछि सङ्कलित फोहर लाने काम मात्र स्थानीय तहको भएको जिकिर गर्नुभयो । शाक्यले भन्नुभयो, “फोहर राख्ने स्थान निर्माण गर्नका लागि आफूहरुसँग स्रोत साधन नभएकाले केन्द्र सरकारले नै स्थान तय गरिदिनुपर्छ ।”
दुई वर्षका लागि फोहर व्यवस्थापन गर्ने भन्दै १३ वर्षदेखि नुवाकोटको सिसडोलमा फोहर राखिँदै आएको छ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर उक्त स्थानमा व्यवस्थापन हुने गर्छ ।
“ स्थान निर्माणका सम्बन्धमा नेपाल सरकासँग कुरा भइरहेको छ यो समस्या छिट्टै हट्छ’ शाक्यले भन्नुभयो । सिसडोलभन्दा दुई किलोमिटर पर बन्चरे डाँडामा एक हजार सात सय रोपनी जग्गा अधिग्रहण गरिसकिएको भए पनि निर्माणको काम अघि बढ्न सकेको छैन ।
बन्चरे डाँडामा ल्याण्डफिल साइट निर्माणका लागि करीब तीन अरब रकम र कम्तीमा दुई वर्षको समय लाग्ने अनुमान गरिएको छ ।
उपत्यकाबाट दैनिक एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । जसमा सबैभन्दा बढी काठमाडौ महानगरपालिकाबाट पाँच सय मेट्रिक टन फोहोर लगिने गरिएको छ ।
हरेक दिन उपत्यकाबाट निजी र काठमाडौ महानगरपालिकाका गरी दुई सय गाडीले फोहोर ओसारिरहेको छ । वर्षाको समय आएपछि बाटो पहिरोले पुर्ने र खाल्टो पर्ने हुँदा लामो समयसम्म पनि फोहोर उपत्यकामा नै थुप्रिने गरेको छ ।