काठमाडौमा एम्फील होल्डरका तीन शौचालय

🔗
0
Shares

काठमाडौ : शैक्षिक योग्यता, एम्फील । काम : बिहान प्राध्यापन, दिउँसो सहकारी र अपरान्ह शौचालयको रेखदेख । एमफील होल्डर ऋषि गर्तौलाको सामान्य दैनिकी यसरी नै चल्दै आएको छ ।

अरुले छिछीदुरदुर गर्ने शौचालयमा उहाँले हात हालेको दुई बर्ष वितिसक्यो । उहाँले अहिले काठमाडौको खुलामञ्च, शंखपार्क र रत्नपार्कको शौचालय सञ्चालन गर्दै आउनुभएको छ ।

शौचालयबाट सेवा र रोजगार दिन सकिने निष्कर्षमा पुग्नुभएको छ गर्तौला । राज्यले जग्गाको व्यवस्था गरिदिएमा आफैले शौचालय बनाएर पनि सेवा दिने सोचमा रहेको गर्तौलाले बताउनुभयो ।

काठमाडौ महानगरपालिकाले आव्हान गरेको बोलपत्रमा सबैभन्दा बढी बोलकबोल गरेपछि उहाँले शौचालय सञ्चालन गर्न पाउनुभएको हो । तीनवटा शौचालय सञ्चालन गरेबापत उहाँले बार्षिक ४२ लाख रुपैयाँ भन्दा बढी रकम सरकारलाई बुझाउनुहुन्छ ।

‘शंखपार्कको शौचालयको बार्षिक ८० हजार, रत्नपार्कको शौचालयबाट बार्षिक साढे १४ लाख र खुलामञ्चको शौचालयबाट २७ लाख ३१ हजार रुपैयाँ बुझाउँदै आएको छु ।’ उहाँले भन्नुभयो ।

शौचालय सँगको सम्बन्ध

दश जोड दुई कक्षासम्मको पढाई गाउँमै पूरा गरेपछि उच्च शिक्षा आर्जन गर्न २०५८ सालमा काठमाडौ छिर्नु भएको हो गर्तौला ।

उहाँले दुःखजिलो गरेर भएपनि उच्च शिक्षा हासिल गर्नुभयो । स्नातकोत्तर तहको पढाई पूरा गरेपछि गाउँमै खुलेको क्यापम्पस सञ्चालनका लागि पनि बोलाएका थिए गर्तौलालाई । तर उहाँको एमफील गर्ने धोको थियो ।

स्नातकोत्तर पूरा भएपछि सुन्धारामा रहेको एउटा कलेजमा पाठ्यक्रम र मूल्यांकन विषयमा अध्यापन गर्ने मौका पाउनुभयो । २०६७ सालदेखि उहाँ भोटाहिटी रानीपोखरी बचत तथा ऋण सहकारी संस्थामा पनि आवद्ध हुनुहुन्छ । सहकारीका बचतकर्ता रत्नपार्क आसपासका व्यापारीहरु नै हुने भएपछि एक दिन गोरखापत्रमा सार्वजनिक शौचालय सञ्चालनका लागि महानगरपालिकाले बोलपत्र आव्हान गरेको सूचना प्रकाशित भएको थाहा भयो ।

‘तपाई लगानी गर्नुहोस्, राम्रै हुन्छ, अरुलाई रोजगार पनि हुन्छ भन्ने भएपछि मैले केही दिन विश्लेषण गरें’ गर्तौला भन्नुहुन्छ ‘बार्षिक कति सम्ममा सन्चालन गर्न सकिन्छ भन्ने एनालाइसिस गर्दा मैले अरुले भन्दा बढी नै बोलकबोल गरेर पनि सञ्चालन गर्न सकिन्छ भन्ने भएँ, रत्नपार्कको शौचालयमा दोस्रो व्यक्तिले भन्दा ५ लाख बढी बीट गरेको छु । खुलामन्चको शौचालयमा चाहिं ८ लाख बढी दिएको छु ।’

निजी शौचालय बनाएर सञ्चालन गर्ने

शौचालयबाट सेवा र रोजगार दिन सकिने निष्कर्षमा पुग्नुभएको छ गर्तौला । राज्यले जग्गाको व्यवस्था गरिदिएमा आफैले शौचालय बनाएर पनि सेवा दिने सोचमा रहेको गर्तौलाले बताउनुभयो ।

व्यवसायिक रुपमा शौचालयलाई दिगो र स्थायी रुपमा सञ्चालन गर्नका लागि शौचालय भएर मात्र नपुग्ने उहाँको अनुभव छ । शौचालय सँगै व्यापार, व्यवसाय सञ्चालन गर्ने ठाउँ पनि बनाउन सके यसको सरसफाइ र दिगो सन्चालनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

दिसापिसाब गर्दा लाग्ने शुल्क नबढ्ने

महानगरपालिकासँग गरेको सम्झौतामा प्रति २ बर्षमा १० देखि २० प्रतिशत बढाउन सकिने प्रावधान भएपनि आफू शौचालय प्रयोग गरेबापतको सेवा शुल्क नबढाउने पक्षमा रहेको उहाँले बताउनुभयो ।

‘२ बर्ष पार गरेपछि बढाउँन मिल्ने प्रावधान छ, तर हामी पाँच बर्षसम्म नबढाउने पक्षमा छौं, हरेक २ २ बर्षमा शौचालयको मर्मत सम्भार र रंगरोगन गर्नुपर्ने भन्ने पनि छ, हामीले नियमित रुपमा मर्मत सम्भार गर्दै आएका छौं ’ उहाँले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार