विश्व चर्पी दिवस मनाईरहँदा ओडिएफ भईसकेको मुगुको यस्तो हालत

मुगु : विश्व चर्पी दिवस विभिन्न कार्यक्रम गरी मनाईरहेका बेला ६ महिना अघि खुला दिसामुक्त घोषणा गरिएको मुगु जिल्ला भने घोषणामै सीमित भएको छ । जिल्लाभरका करिब ९८ प्रतिशत घरधुरीमा शौचालय र खानेपानीको सुविधा पुगेको भन्दै मुगुलाई जेठ २८ गते खुला दिसामुक्त घोषणा गरेको थियो ।

खुला दिसामुक्त कार्यक्रम प्रभावकारी रूपले कार्यान्वयन नगर्दा घोषणामै सीमित भएको छायानाथ–रारा नगरपालिका–११, का वडाध्यक्ष दानबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार ठूलो बस्ती भएका गाउँ वरपर खुला दिसापिसाब यथावत रहेको छ ।

घोषणा कार्यान्वयन नहुँदा खुला शौचका कारण सदरमुकाम आसपासको क्षेत्र दुर्गन्धित बनेको छ । ग्रामीण क्षेत्रका अधिकांश शौचालय प्रयोगविहीन बनेका छन् ।

सदरमुकाममा समेत सार्वजनिक शौचालयको व्यवस्था नहुँदा बजार क्षेत्रमा जथाभाथी दिसापिसाब गर्ने गरिएको छ । गमगढी बजार क्षेत्र आसपास खुला शौचका कारण नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ ।

गमगढीस्थित महाकाली माध्यमिक विद्यालय वरिपरिको क्षेत्र खुला शौचले भरिएको छ । विद्यालयको शौचालय समेत प्रयोगविहीन भएपछि विद्यार्थी खुला रूपमा शौच गर्न बाध्य छन् । विद्यालय हुँदै आवातजावत गर्ने स्थानीयबासिन्दाले समेत जथाभावी शौच गर्दा दुर्गन्ध फैलिएको छ । ‘खुला दिसामुक्त घोषणा गरिएको जिल्लामा हिँड्दा नाक थुन्नुपर्ने अवस्था छ,’ गमगढी तल्लो बजारका ऐटनकुमार मल्लले भन्नुभयो, ‘हचुवाको भरमा घोषणा गरियो, सदरमुकामकै सबै घरमा शौचालय सुविधा छैन ।’

उहाँले ग्रामीण क्षेत्रमा खुला शौचको अवस्था भयावह भएको बताउनुभयो । शौचालयको समस्याले गाउँबाट किनमेल गर्न बजार आएकाहरू सडक छेउछाउ दिसापिसाब गर्न बाध्य हुने गरेको उहाँको भनाइ छ ।

जिल्लाको ढुम, कार्कीबाडा, भामबाडा, श्रीनगर, रोवा, बाम, रुघालगायत गाउँका सार्वजनिक स्थानमा जथाभावी दिसापिसाब देखिने गरेको छ । विद्यालय, स्वास्थ्य चौकी लगायत सार्वजनिक स्थल आसपास समेत खुला शौचले दुर्गन्धित बन्दै गएका छन् । अधिकांश स्थानीयबासी घरमा चर्पी नहुँदा खेतबारीको कुना र झाडीमा लुकेर दिसापिसाब गर्न बाध्य छन् ।

पूर्ण सरसफाइ कार्यक्रम समेत प्रभावित

घोषणाको प्रतिबद्धतामा सरकारी निकायले ध्यान नदिंदा र पूर्ण सरसफाइ कार्यक्रमलाई निरन्तर सञ्चालन नगर्दा समस्या भएको ग्रामीण सामुदायिक विकास केन्द्रका निर्देशक जर्मन नेपालीले बताउनुभयो ।

‘खानेपानीको अभाव र चर्पीमा दिसा गर्ने बानीको विकास नहुँदा सबै क्षेत्रमा खुला शौच हुने गरेको छ,’ उहाँले भन्नुभयो ‘घोषणा गरियो तर, कार्यान्वयनको पाटोलाई ध्यान दिइएन ।’ जिल्लाको एकमात्र रारा विमानस्थलमा सार्वजनिक शौचालय नहुँदा यात्रुलाई दिसापिसाब गर्न समस्या भएको छ । यात्रुहरू धावनमार्गको ढलमा दिसापिसाब गर्न बाध्य छन् ।

जिल्लाभरि करिब १० हजार घुरधुरीमध्ये ९८ प्रतिशत घरमा शौचालयको व्यवस्था भएको भन्दै समितिले जिल्लालाई खुला दिसामुक्त घोषणा गरेको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार