सर्लाही : सर्लाही जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न ठोस योजना तर्जुमा गर्ने उद्देश्यले मंगलबार डिवाससीसीको विस्तार बैठक बसिरहेको छ ।
सुन्दर समुन्नत सफा सर्लाही, पूरा गरौं यो अभियान घरघरमा चर्पी बनाई भन्ने मूल नाराका साथ बसिरहेको बैठकमा सर्लाही जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिका सदस्यहरु, डिवाससीसीका सदस्यहरुको सहभागिता रहेको खानेपानी तथा ढल व्यवस्थापन विभाग, वातावरणीय सरसफाइ शाखाका प्रमुख एवं राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र कुमार झाले जानकारी दिनुभयो ।
आजको विमर्श तथा ओडिएफ घोषणाको ठोस योजना तर्जुमा गर्ने हेतुले बसिहेको बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागको टोलीले सहजीकरण गर्नेछ । टोलीमा वातावरणीय सरसफाइ शाखाका प्रमुख एवं राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र कुमार झा, समाजशास्त्रीहरु कमल अधिकारी, भोजेन्द्र अर्याल र इञ्जिनियर चेतनाथ श्रेष्ठ हुनुहुन्छ ।
बैठकले सर्लाहीलाई खुला दिसामुक्त घोषणा गर्नका लागि कार्ययोजना बनाउने सदस्य सचिव झाले जानकारी दिनुभयो । बैठक जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति सर्लाहीले आयोजना गरेको हो ।
खानेपानी तथा ढल व्यवस्थापन विभाग, वातावरणीय सरसफाइ शाखाको सहजीकरणमा यस्तै प्रकृतिको कार्यक्रम १२ गते बुधबार महोत्तरीमा र १३ गते विहीबार धनुषामा पनि गरिने कार्यक्रम छ ।


974 पटक हेरिएको 

