सर्लाही : सर्लाहीलाई आगामी पुस ११ गते खुला दिसामुक्त घोषणा गर्ने गरी रणनीतिक योजना तयार पारेको छ । डिवाससीसी सर्लाहीको आज बसेको विस्तारित बैठकले खुला दिसामुक्त घोषणा गर्न बाँकी स्थानीय तहलाई पुसको ७ गतेसम्ममा घोषणा गरिसक्ने र ११ गते जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभाग, वातावरणीय सरसफाइ शाखाका प्रमुख एवं राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

कुन गाउँपालिका कहिले खुला दिसामुक्त ?
खुला दिसामुक्त घोषणा गर्न बाँकी स्थानीय तहले खुला दिसामुक्त घोषणा गर्ने समय सीमा निर्धारण गरेका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिका सदस्यहरु सम्मिलित विस्तारित बैठकमा निम्नानुसार मिति तय गरिएको छ ।
मलंगवा नगरपालिका – मंसिर मसान्तभित्र
कविलासी नगरपालिका –मंसिर मसान्तभित्र
धनकौल गाउँपालिका –मंसिर मसान्तभित्र
बरमपुरी गाउँपलिका –मंसिर मसान्तभित्र
चन्द्रनगर गाउँपालिका – मंसिर मसान्तभित्र
चक्रघट्ट गाउँपालिका – पुस ४ गते
ईश्वरपुर नगरपालिका – पुस ११ गते
रणनीतिक योजना अन्तर्गत डिवाससीसीले सरसफाइ अभियान सञ्चालनका लागि समस्या झेल्दै आएका स्थानीय तहको समस्या पहिचान गर्ने, समाधानका लागि पहल गर्ने र निरन्तर फलोअप गर्ने भएको छ ।
युएन ह्याविटाटका सर्लाही जिल्ला संयोजक गोविन्द सुवेदीका अनुसार स्थानीय तहको समस्या त्यो समाधानका लागि पहल गर्ने, गुणस्तर अनुमगनलाई तीब्रता दिने ।
विपन्न वर्गलाई चर्पी निर्माणका लागि सहयोग गर्ने, शौचालय निर्माण र प्रयोगका लागि संघर्षका कार्यक्रमहरु सञ्चालित गर्ने लगायत गतिविधि रणनीतिक योजनामा समेटिएका छन् ।
डिवाससीसीले स्थानीय सरकारको सहकार्यमा सरसफाइ सम्बन्धी विभिन्न संघर्षका कार्यक्रम समेत गर्दै आएको छ । संघर्षका कार्यक्रम अन्तर्गत विहान उठेदेखि बाहिर दिसागर्न जान सक्ने समय अवधिभर धरपकट गर्ने र निगरानी बढाउने कामहरु भइरहेको संयोजक सुवेदीले जानकारी दिनुभयो ।
सर्लाहीको ९६ प्रतिशत घरमा चर्पी बनिसकेका छन् ।

खुला दिसामुक्त घोषणा भइसकेका सर्लाहीका स्थानीय तह
वाग्मती नगरपालिका
हरिवन नगरपालिका
हरिपुर नगरपालिका
बरहथवा नगरपालिका
बलरा नगरपालिका
रामनगर गाउँपालिका
हरिपुर्वा नगरपालिका
लालबन्दी नगरपालिका
विष्णुगाउँपालिका
पर्सा गाउँपालिका
कौडेना गाउँपालिका
बसबरिया गाउँपालिका
फोटोहरु : गोविन्द सुवेदीको फेसबुकबाट ।


1469 पटक हेरिएको 

