सिन्धुपाल्चोकको गाउँ गाउँमा पूर्ण सरसफाइ सम्बन्धी नाटक

  बिमल गौतम  2493 पटक हेरिएको

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको गाउँ गाउँमा पूर्ण सरसफाइ सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । सडक नाटक मार्फत पूर्ण सरसफाइ सम्बन्धी सचेतना प्रवाह गर्ने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको ग्रामिण सेवा समितिका कार्यक्रम संयोजक रोहित शर्माले बताउनुभयो ।

आवाज आर्ट क्रियसनका कलाकारहरुले प्रस्तुत गरेको नाटकमा शौचालयलाई सफा राख्ने तरिका, सुरक्षित खानेपानीको प्रयोग, साबुनपानीले हात धुनैपर्ने अवस्थाहरु, बातावरणीय सरसफाइ, घरायसी फोहोरमैलाको व्यवस्थापन, कुहिने फोहोर र नकुहिने फोहोरको व्यवस्थापन र महिनावारी स्वच्छता व्यवस्थापनका विषयबस्तुलाई आकर्षक ढंगले प्रस्तुत गरिएको थियो ।

 

नाटकको विषयबस्तु : दिसा गर्ने पुरानो सोचाइमा आधारित

नाटकको विषयवस्तु खुला रुपमा दिसा गर्ने पुरानो सोचाइमा आधारित भएर तयार पारिएको छ । विद्यालयले समुदायको पूर्ण सफाइमा कसरी परिवर्तन गर्न सक्छ भन्ने विषय पनि नाटकमा प्रस्तुत गरिएको थियो । समाज अझै पनि पुरानै मान्यतामा गुज्रिरहेको भन्दै शौचालयलाई दाउरा, घाँसपात र गाईवस्तु बाँध्ने ठाउँ बनाउन नहुने विषयलाई समेत मिहीन तरिकाले उठाइएको थियो, नाटकमा ।

 

नाटक हेरेपछि ….

चौतारा साँगाचोकगढी नगरपालिका वडा नंं. २ र ३ मा पूर्व बन तथा भु संरक्षण मन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद अग्नी प्रसाद सापकोटाले नाटकको अवलोकन गर्नु भयो । नाटक हेरेपछि उहाँले नाटकको विषयबस्तु समाजमा आधारित रहेको र प्रस्तुतीकरण समेत सुहाँदो रहेको प्रतिक्रिया दिनुभयो ।

यस्तै चौतारा साँगाचोकगढी वडा नं. २ का वडा सदस्य आइदोर्जे तामाङले वर्तमान सन्दर्भमा नाटक प्रभावकारी रहेको सरुवा रोगको रोकथामको लागि शौचालयको निर्माणले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विषयमा सरल भाषामा प्रस्तुत गरिएको प्रतिक्रिया दिनुभयो । उहाँले यस क्षेत्र पुनर्निमाणको चरणमा रहेको हुँदा शौचालय निर्माणले पनि गति लिएको बताउनुभयो ।

त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ३ दक्षिणकाली माध्यमिक विद्यालयका शिक्षक डिल्ली प्रसाद ढुंगानाले नाटकमा विद्यालयले समुदायलाई पूर्ण सरसफाइतर्फ उन्मुख गराउन खेल्न सक्ने भुमिकाको प्रस्तुती अत्यन्त मन परेको बताउनुभयो । नाटकमा समाविष्ट गरिएको कुहिने फोहोर र नकुहिने फोहोरको व्यवस्थापन र साबुन पानीले हात धुनुपर्ने अवस्थाहरु र तरिकाले पाठ्यपुस्तकमा पढेको विषयलाई व्यवहारमा कसरी लागु गर्ने भनेर विद्यार्थीलाई बुझ्न सहज भएको प्रतिक्रिया दिनुभयो ।

भुकम्प जानु अघि खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको भए पनि भुकम्पपछि घर तथा शौचालयमा क्षति पुग्न गई सरसफाइको अवस्था विग्रन गएका बस्तीहरुमा नाटक प्रदर्शन गरिएको थियो ।

कारितास जर्मनी र कारितास नेपालको सहयोगमा जनहित ग्रामिण सेवा समिति सिन्धुपाल्चोकले सञ्चालन गरिरहेको जीविकोपार्जन र खानेपानी सरसफाइ तथा स्वच्छता पुनस्र्थापना परियोजना अन्तर्गत सडक नाटक प्रदर्शन गरिएको हो ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. १,२ र ३ (स्याउले र बतासे) र इन्द्रावती गाउँपालिका वडा नं. १ (सिम्पालकाभ्रे) का विभिन्न १७ वटा स्थानहरुमा सडक नाटक प्रदर्शन गरिएको ग्रामिण सेवा समितिका कार्यक्रम संयोजक रोहित शर्माले जानकारी दिनुभयो । सबै स्थानमा गरी करिब ६ सय जनाले नाटक अवलोकन गरेका थिए ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार