कालिकोट : कालिकोटको पचालझरना गाउँपालिकाका विभिन्न विद्यालयमा शिक्षक नायक र जुनियर रेडक्रसका सदस्यलाई महिनावारी स्वच्छता सम्बन्धी तालिम दिईएको छ ।
बिद्यालयमा आधारित पूर्ण सरसफाइ बिषयक दुई दिने तालिम दिईएको हो । तालिमको समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले सरसफाइको महाअभियानलाइ बिद्यालय र समुदायमा सबैलाइ बुझाउन आवश्यक भएको बताउनुभयो ।
कालिकोट जिल्लामा महिनावारीको बिषयमा अलि फरक बुझाइ भएकाले बालबालिकाले आमा बुबालाइ बुझाउनु पर्ने र पछि रहेको समुदायलाई अगाडि लैजान चेतनामुलक कार्यक्रम आवश्यक रहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखाको सहजीकरण र सहभागितामा बिद्यालयमा आधारित शिक्षक नायक र जुनियर रेडक्रस सर्कलका पदाधिकारीहरुका लागि बिद्यालयमा आधारित पूर्ण सरसफाइ र महिनावारी स्वच्छता बिषयमा तालिम दिईएको हो ।
गाउँपालिकामा रहेका सबै बिद्यालयमा पूर्ण सरसफाइ तथा महिनावारी स्वच्छता बिषयमा कार्यशाला सञ्चालन गरी विद्यालय स्तरको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयार गर्न सहजिकरण गर्ने सहयोगी निकाय नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखाका जिल्ला कार्यक्रम संयोजक टेकम वलीले जानकारी दिनुभयो ।
कालिकोट जिल्लाको पचलझरना गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य र खानेपानी सरसफाइ तथा स्वच्छताका लागि सामुदायिक सहकार्य कार्यक्रम सञ्चालन गरिरहेको छ ।


1591 पटक हेरिएको 

