सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको गाउँ गाउँमा महिला तथा किशोरीहरुका लागि कपडाको स्यानिटरी प्याड बनाउने तालिम अभियानकै रुपमा सञ्चालन गरिरहेको छ । सिन्धुपाल्चोक जिल्लाको साविकका गाविसहरु चोकटी, तातोपानी र कालिकामा महिला स्वास्थ्य सेविकाहरुका लागि तालिम दिएर सीपयुक्त बनाउन थालिएको हो ।
ग्रामीण महिला सिर्जनशील परिवार र अक्सफाम नेपालको साझेदारीमा दिइएको तालिमबाट ४ सय जना भन्दा बढी महिला लाभान्वित भएका छन् । कपडाको सेनेटरी प्याड बनाउने तालिममा सहभागीहरुलाई महिनावारी स्वच्छता तथा सरसफाइ सम्बन्धी अभिमुखीकरण गर्ने र महिनावारी हुँदा प्रयोग गर्ने घरायसी कपडाको प्याड बनाउने सीप प्रदान गरिएको कार्यक्रम संयोजक ओम तामाङ्गले जानकारी दिनुभयो ।

ग्रामीण भेगका महिलाहरुले महिनावारी हुँदा घरायसी कपडाहरु प्रयोग गर्ने र महिनावारी स्वच्छता सम्बन्धी ज्ञानको कमीका कारण महिनावारीलाई राम्ररी व्यवस्थापन गर्न नसक्दा महिलाहरुमा विभिन्न किसिमका रोगहरु पाठेघर क्यान्सर, आङ्ग खस्ने, घाउ खटिरा तथा यौनजन्य रोगहरुबाट पीडित हुने कालिका स्वास्थ्य चौकीका कर्र्मचारी भवानी पराजुलीले बताउनुभयो ।
‘अहिलेसम्म हामीलाई यस्तो तालिम कसैले दिएको थिएन, सिर्जनशील परिवारले दिनुभयो, यो तालिमले महिला दिबहिनीहरुको महिनावारी व्यवस्थापन गर्न धेरै सघाउ पुगेको छ’ उहाँले भन्नुभयो ।
बजारमा किन्न पाइने स्यानिटरी प्याड भन्दा कपडाको प्याड सजिलो, सस्तो र फेरि प्रयोग गर्न सकिने भएकाले तालिमको माग बढी रहेको कार्यक्रम संयोजक ओम तामाङ्गले बताउनुभयो । यो कपडाको प्याडलाई वातावरणीय अनुकुलताको हिसाबले पनि उपयुक्त मानिएको छ ।


1281 पटक हेरिएको 

