काठमाडौ : खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले ६० दिन भित्र मेलम्चीको पानी काठमाडौं आईपुग्ने ठोकुवा गर्नुभएको छ ।
आईतबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले ६० दिन भित्र सबै प्राविधिक काम सकेर मेलम्चीको पानी टनेलमा हाल्ने र त्यसको ६ दिन भित्र काठमाडौंको घरघरमा पानी पु-याउने दावी गर्नुभयो ।
सचिव ठाकुरले मेलम्चीको खानेपानी ल्याउने काममा कर्मचारीहरुलाई उत्साही बनाउने वातावरण बनाई दिन पनि संघीय संसदका सांसदहरुलाई आग्रह गर्नु भयो । सचिव ठाकुरले दशैंमा मेलम्चीको पानी ल्याउने प्रतिवद्धता पूरा गर्न नसकेकोमा माफी समेत माग्नुभयो । उहाँले सूरुमा मेलम्चीको पानी पूरानै संरचनाबाट वितरण गर्ने पनि स्पष्ट पार्नु भयो ।
महाँकाल, नयाँ बानेश्वर, अनामनगर, बालाजु, पानीपोखरी र बाँसबारीमा रहेको पुरानै पानी टयांकीबाट पानी वितरणको काम सुरु गर्ने सरकारको योजना छ । सचिव ठाकुरले नयाँ संरचना तयार पार्ने क्रममा पाईपलाईन विस्तारको काम सक्न लागि सकेको उल्लेख गर्दै त्यसमा भने पानी परीक्षण गरेर मात्रै वितरण गर्ने योजना रहेको स्पष्ट पार्नुभयो ।
मेलम्चीको पानी वितरणका लागि करिव एक हजार किलोमिटर पाईपलाईन विस्तारको काम सम्पन्न हुने चरणमा रहेको छ । सचिव ठाकुरले सुरुका ४ महिना भने पूरानै संरचनाबाट पानी घरघरमा पु¥याउने र परिक्षण गर्दै नयाँ पाईपलाईनमा पनि पानी हाल्दै लैजाने योजना पनि समितिलाई जानकारी दिनुभयो ।
काठमाडौंमा पानी आएको ६ महिना भित्र नयाँ संरचनाबाट घरघरमा मेलम्चीको पानीको व्यवस्था गर्ने सरकारको योजना छ ।
सचिव ठाकुरले मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु भएपछि मात्रै त्यहाँका स्थानीय जनताले क्षतिपूर्तिवापत मागेको रकम उपलब्ध गराउने योजना पनि सार्वजनिक गर्नुभयो । उहाँले विगतमा भएका कमीकमजोरीका कारण मेलम्चीको पानी काठमाडौं ल्याउने काममा ढिलाई हुन गएको दावी गर्नुभयो ।