मोरङ : छिमेकी वडा खुला दिसामुक्त भइसके । कटहरी गाउँपालिकाका तीनवटा वडामा भने समस्या ज्युँका त्युँ रह्यो । वडा नम्बर २, ३ र ४ का कारण गाउँपालिका खुला दिसामुक्त बन्नबाट वञ्चित भयो ।
गाउँपालिकाले उपाय रच्न थाल्यो । पहिले खुला ठाउँमा शौच गर्न जाने पहिचान गर्ने अनि सम्मान साथ सम्झाउने । छलफल गर्दै जाँदा ड्रोन क्यामेराको प्रयोग समेत गरेर पहिचान गर्ने निधो भयो । जिल्ला प्रहरी कार्यालय मोरङले साथ दिने भयो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार बिहान दुई घण्टा कटहरीको जुडीखोला किनारमा दिसा गर्न आउनेलाई ड्रोन क्यामेराले निगरानी गरे । क्यामेरा उडेको देखेर बिहानै खोलाकिनार शौच गर्न पुगेका बीच भागाभाग भएको कटहरी–४ का वडाध्यक्ष मन्टुन शेखले बताए ।
‘प्रहरीले कटहरीलाई खुला दिसामुक्त अभियानमा सघाउ पुर्याउनका लागि शुक्रबार बिहान ५ देखि ७ बजेसम्ममा जुडीखोला क्षेत्रमा ड्रोन क्यामेराले निगरानी गरेको थियो,’ उनले भने । निगरानी सकिएपछि जिल्ला समन्वय समिति प्रमुख नरेश पोखरेल, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठलगायतका व्यक्तिहरूले खुला दिसामुक्तको ब्यानरसहित कटहरीको वडा ४ मा जनचेतनामूलक र्याली प्रदर्शनसमेत गरे ।
प्रमुख पोखरेलले सबैलाई घरघरमा शौचालय निर्माण गरेर प्रयोग गर्न आग्रह गरेका थिए । ‘बाहिर खुला ठाउँमा शौच गर्दा व्यक्ति, परिवार, टोल, गाउँ, गाउँपालिका र अन्त्यमा जिल्लाकै बेइज्जत भइरहेको छ,’ उनले भने, ‘जिल्लामा खुला दिसामुक्त गाउँपालिका घोषणामा कटहरी गाउँपालिका पछि पर्दा बेइज्जती भइरहेको कुरा सबैलाई बुझ्नु आवश्यक छ ।’
ती वडाहरूका खुला ठाउँमा शौच गर्न बिहानै घरबाट पानी बोकेर हिँड्नेहरूलाई गाउँपालिकाले समातेर चियानास्ता खुवाएको छ । शौच गर्नैहरूलाई पनि समातेर फूलमाला, अबिर लगाइदिएर सम्मानसमेत गरेको छ ।
कटहरी गाउँपालिकामा खुला दिसामुक्त अभियानका सहयोगी संस्था मातृभूमि महिला समाज मोरङका शान्ता दाहालले दुई महिनादेखि प्रत्येक दिन बिहानै कटहरीस्थित गाउँ वरिपरि निगरानी गर्दै आएको बताइन् ।
‘घरघरमा खुला दिसाबाट हुने असरबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौं,’ उनले भनिन्, ‘परम्परागत जीवनशैलीले यहाँका मानिसले खुला ठाउँमा शौच गर्न नछाडेपछि शौचालय प्रयोग गर्न लगाएर सम्मान गर्ने अभियान सुरु गरेका छौं ।’
९ हजार घरधुरी रहेको कटहरीमा अब शौचालय नबनेका करिब ३ सय घरमा निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कार्कीले बताए । उनले शौचालय बनाउने हैसियत नभएका विपन्न दलितलाई गाउँपालिकाले रिङ, पाइप, प्यान सिट र एक जना मिस्त्रीको ज्याला दिने गरेको बताए ।
उनले शौचालय निर्माणमा भएकाले ढिलाइले मंसिर २९ गते गाउँपालिकालाई खुला दिसामुक्त गर्ने निर्णय असफल भएको बताए । गाउँपालिकाका प्रमुख रामकुमार कामतले पुस पहिलो साताभित्र सम्पूर्ण घरमा शौचालय निर्माण सकेर खुला दिसामुक्त गाउँपालिका घोषणा गर्ने तयारी रहेको जानकारीसमेत दिए ।
जिल्लाका १७ स्थानीय तहमध्ये तीनवटा मात्रै खुला दिसामुक्त घोषणा हुन बाँकी रहेको उनले बताए । जिल्लास्थित १७ वटा स्थानीय तहमध्ये विराटनगर महानगरको वडा १८ र १९ तथा जहदा गाउँपालिकाको वडा २, ४ र ७ मा मात्रै केही घरधुरीमा शौचालय निर्माण गर्न बाँकी छ ।
कान्तिपुर दैनिकबाट ।


1275 पटक हेरिएको 

