के गर्दैछ, महिनावारी स्वच्छता व्यवस्थापन सञ्जाल ?


काठमाडौ : महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालको बारेमा सुन्नुभएको छ ? सुन्नु भएको छैन भने अब थाहा पाउनुहोस्, सञ्जालले कसरी काम गर्छ ?


नेपालमा महिनावारीको क्षेत्रमा क्रियाशील र अभ्यासरत विभिन्न संघसंस्थाहरुको गठबन्धन हो, महिनावारी स्वच्छता व्यवस्थापन सञ्जाल । यो सञ्जाल करिब डेढ बर्ष देखि क्रियाशील छ । सञ्जालमा आबद्ध करिब ५० वटा संघसंस्थाले हरेक महिना हुने बैठकमा सहभागिता जनाएर आ – आफ्ना सिकाईहरु प्रस्तुत गर्दै आएको छ ।


सञ्जालका संयोजक एवं WSCC जेनेभाका नेपाल प्रतिनिधी गुणराज श्रेष्ठका अनुसार अहिले महिनावारी व्यवस्थापनको क्षेत्रमा गरिरहेको कामको मोडालिटी, भूगोल, लाभान्वित समुदाय आदिका बिषयमा अभिलेख तयार काम भइरहेको छ ।


शुरुमा महिनावारी स्वच्छता व्यवस्थापनको क्षेत्रमा आ – आफ्ना अनुभवहरु, सिकाई तथा काम गर्ने दौरानमा आउने समस्याहरु आदानप्रदान गर्ने हेतुले एकजुट भएपनि पछिल्लो समयमा सरकारसँग समन्वय गरेर नीति निर्माण तथा सरकार र सञ्जालले गर्न सकिने सहकार्यका बिषयमा समेत नियमित छलफल तथा अन्तरक्रिया गर्दै आएको छ ।


संयोजक श्रेष्ठका अनुसार आगामी दिनमा सञ्जालले निम्न कामहरुलाई प्राथमिकतामा राखेको छ ।


१. अन्धविश्वास हटाउने


महिनावारी सम्बन्धी विभिन्न गलत धारणाहरु छन् । देशको सुदुर पश्चिम र कर्णाली प्रदेशमा व्याप्त छाउपडी प्रथा र अन्य ठाउँमा पनि महिनावारी सम्बन्धी गलत धारणाहरु छन् ।

त्यसलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सँग मिलेर अन्धविश्वास हटाउने लगायत काम गर्ने योजना रहेको सञ्जालका संयोजक गुणराज श्रेष्ठले जानकारी दिनुभयो ।


२. महिनावारी स्वच्छता व्यवस्थापन


महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालले गर्न लागेको दोस्रो काम महिनावारीको स्वच्छता व्यवस्थापन हो ।

सञ्जालको १२ औं बैठकमा श्रेष्ठले भन्नुभयो ‘यस अन्तर्गत महिनावारी भएको समयमा लगाइने स्यानिटरी प्याडको सहज र सरल उपलब्धता, प्रयोग गरेपछि त्यसको सही विसर्जन, विद्यालय तथा सार्वजनिक स्थलमा महिलामैत्री शौचालयको व्यवस्था आदि पर्दछन्, हामी यसबारेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र खानेपानी मन्त्रालयसँग सहकार्य गर्न चाहन्छौं ।’


३. महिनावारी स्वच्छता


महिनावारीको बिषय स्वास्थ्यसँग पूर्ण सम्बन्धित छ । महिनावारीको समयमा स्वच्छतामा ध्यान दिएन भने विभिन्न संक्रमण तथा प्रजनन स्वास्थ्यमै पनि असर पर्छ ।

महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालले महिनावारी स्वच्छतासँग सम्बन्धित बिषयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गर्ने सञ्जालका संयोजक श्रेष्ठले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार