सिन्धुपाल्चोकका विद्यालयमा सरसफाइ कार्यविधि लागु हुँदै

मेलम्ची : सिन्धुपाल्चोकका २ वटा स्थानीय तह अन्तर्गतका विद्यालयमा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४ लागु हुने भएको छ । विद्यालयमा दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन गरी शैक्षिक उपलब्धि बढाउन अनुकूल वातावरणको सिर्जना गर्ने लक्ष्यसहित २०७४ चैत्र २२ गतेबाट लागु भएको उक्त कार्यविधि हेलम्बु गाउँपालिकाले अनुमोदन गरिसकेको छ ।

मेलम्ची नगरपालिकाले कार्यविधि अनुमोदन गर्ने क्रममा रहेको जनाएको छ । सिन्धुपाल्चोकका भूकम्प प्रभावित विद्यालयको पुननिर्माण परियोजना अन्तर्गत निर्माण भएका विद्यालयले एक तारा का लागि कार्यविधिमा भएका १० मध्ये अधिकाँश सूचक पुरा गरिसकेको र स्तरोन्नतिका कामले दुई तारा प्राप्त गर्न सक्ने अवस्थामा छन् । कार्यविधि कार्यान्वयनमा सहजिकरण गर्नका लागि ३५ विद्यालयका फोकल शिक्षकका लागि दुई दिने तालिम समेत सम्पन्न भइसकेको छ ।

गएको असोज महिनामैं कार्यपालिकाले कार्यविधि अनुमोदन गरिसकेकोले कार्यान्वयनका लागि विद्यालयमा छिट्टै पत्राचार गरिने हेलम्बु गाउँपालिकाका सामाजिक विकास समिति संयोजक खेतनाथ घिमिरेले बताउनुभयो । ‘कार्यविधिमा हरेक विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गर्नु पर्ने र एक जना सम्पर्क शिक्षकले सदस्य सचिवको जिम्मेवारी निर्वाह गर्नु पर्ने प्रावधान छ ।

विद्यालय पुननिर्माण परियोजनाले हस्तान्तरण गरिसकेका विद्यालयमा मर्मत सम्भार र सरसफाइ सम्बन्धी समिति समेत गठन भइसकेका छन् । कारितास र हेल्भेटासले सहयोग गरेका विद्यालयमा भवन सहित खानेपानी र सरसफाइको सम्पूर्ण पूर्वाधार छन् तीनको संरक्षण र आवश्यकता अनुसार मर्मतको काम गरेपुग्छ ।’ संयोजक घिमिरेले भन्नुभयो, ‘अहिले तालिम लिनु भएका शिक्षकहरु नैं खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी फोकल शिक्षकका रुपमा रहनुहुनेछ । गाउँपालिका शिक्षा शाखाले उहाँहरुलाई फोकल शिक्षकका रुपमा सूचीकृत गर्ने र आवश्यकता अनुसार परिचालन गर्नेछ । अद्याबधिक गर्ने काम गर्छ ।’

मेलम्ची नगरपालिकाका नगर शिक्षा अधिकृत भरतराज त्रिपाठीले नगर शिक्षा समितिले पूर्णता नपाएका कारण कार्यविधि अनुमोदनमा ढिलाइ हुन पुगेको प्रतिक्रिया दिनुभएको छ । ‘नगर शिक्षा समितिले पूर्णता नपाइसकेको अहिलेको सन्दर्भमा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४ तत्काल अनुमोदन गर्न केहि कठिन हुने महशुस गरेको छु ।

शिक्षा समितिले पूर्णता पाएपछि समितिको बैठकबाट पारित गराइ नगरकार्यपालिकालाई अनुमोदनका लागि सिफारिस गर्ने योजना छ ।’ उहाँले भन्नुभयो, ‘नगरपालिकाले हरियाली, सफा सुग्घर, शान्त र सुरक्षित विद्यालयको अवधारणाका साथमा क्षमता विकासका लागि प्रधानाध्यापक तथा शिक्षकलाई तालिम प्रदान गरिसकेको छ । शिक्षा शाखाका तर्फबाट प्रति विद्यालय २५ हजार रुपैंयाँसम्म उपलब्ध गराउने गरी बजेट बिनियोजन गरिसकिएको छ । जसलाई कार्यविधि कार्यान्वयन भैसकेको पनि भन्न सकिन्छ ।’

कारितास स्वीटजरल्याण्ड, हेल्भेटास नेपाल र स्वीस रेडक्रसको आर्थिक सहयोगमा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चले पनि कार्यविधि कार्यान्वयनमा सहयोग पुगोस् भन्ने हेतुले कार्यक्षेत्रका विद्यालयका खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी फोकल शिक्षकका लागि २ दिने तालिमको आयोजना गरेको हो । कार्यक्षेत्रका ३७ मध्ये हेलम्बु गाउँपालिका अन्तर्गतका २२ विद्यालयका लागि एक पटक र पाँचपोखरी थाङपाल गाउँपालिकाको १ र मेलम्ची नगरपालिकाका १३ विद्यालयका लागि एक पटक गरी दुई चणमा तालिमको आयोजना गरियो ।

परियोजना अन्तर्गत विद्यालय भवनसँगै छात्र, छात्रा र अपाङ्गता भएका व्यक्तिका लागि अलग अलग शौचालय र खानेपानी योजना निर्माण तथा स्वच्छता प्रवद्र्धन सम्बन्धीका कामहरु गरिरहेको कार्यक्रम अधिकृत विनोद शर्माले बताउनुभयो । ‘३२ वटा विद्यालयमा खानेपानी योजना, छात्र, छात्रा र अपाङ्गता भएका व्यक्तिका लागि अलग अलग शौचालय, साबुन पानीले हात धुने ठाउँ निर्माण भएका छन् ।

८ वटा विद्यालयमा करेसाबारी प्रवद्र्धनका काम भएका छन् भने १८ विद्यालयका महिनावारी हुने उमेरका एक हजार ४ सय ४८ मध्ये ५४ प्रतिशत छात्रालाई पुनः प्रयोग गर्न मिल्ने सेनिटरी प्याड बनाउने सीप सिकाएका छौं ।’ शर्माले भन्नुभयो, ‘कार्यविधिमा भएका १० सूचक (पानी, शौचालय, वातावरणीय सरसफाइ, सफा र हरियाली वातावरण, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यबस्थापन सुविधा, संस्थागत व्यबस्था र दिगोपना, विपत जोखिम व्यबस्थापन र अनुगमन तथा जवाफदेहिता) मध्ये अधिकाँश सूचकहरु पुरा भैसकेका कारण सबै विद्यालय एक तारा पाउन लायक भैसकेका छन् ।’

कक्षा ६ भन्दा माथि पढाई भैरहेका २० वटा विद्यालयमध्ये ६ वटामा प्याड जलाउने चुलो (इन्सिनेरेटर) निर्माण भइ प्रयोगमा आइरहेको, २ वटा विद्यालयमा प्याड जलाउने अस्थायी चुलो, एउटामा अर्को संस्थाले निर्माण गरिदिएको छ भने अरु निर्माणधिन ११ विद्यालयमा इन्सिनेरेटर निर्माणको काम भैरहेको मञ्चले जनाएको छ । ‘कक्षा ६ भन्दा माथी पढाइ भैरहेका २० मध्ये १७ विद्यालयमा महिनावारी व्यबस्थापन समिति (छात्र छात्रा र संरक्षक शिक्षकसहित) गठन भएका छन् ।

बाल क्लवको मातहतमा रहने गरी गठन भएका समितिको नियमित बैठक तथा महिनावारी स्वच्छता व्यबस्थापनका बारेमा विद्यार्थीका बीचमा छलफल भैरहेको छ । रकम संकलन गरेर सेनिटरी प्याड खरिद गरी विद्यालय समयमा महिनावारी भएका छात्रा तथा शिक्षिकालाई उपलब्ध गराउने गरेका छन् ।’ बरिष्ठ सामाजिक परिचालक नवराज सापकोटाले भन्नुभयो, ‘भवन बनिरहेका विद्यालयका अस्थायी शौचालयमा प्याड संकलनको व्यबस्था र सुरक्षित रुपमा बिसर्जन गर्ने गरिएको छ ।

महिनावारीमैत्री संरचना निर्माण र प्रयोगका साथै प्याड बनाउने सीप पाएपछि महिनावारीका बेला विद्यालय गयल हुने विद्यार्थीको सँख्या पनि कम हुँदै गएको हामीले पाएका छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार