काठमाडौ : डाक्टरहरू भन्छन्, सबै संक्रामक रोग फोहोरका कारण लाग्छ । तर, फोहोरमै काम गर्ने सफाइ मजदुरहरूलाई यसबाट बच्ने भरपर्दो तरिका थाहा छैन । संक्रामक किटाणुहरूले भरिएको फोहोर नांगो हातले छुने मात्रै होइन, शरीरका अन्य भागको छालाको स्पर्श समेत सजिलै हुने अवस्थामा वर्षौंदेखि काठमाडौं महानगरका सफाइ मजदुर काम गर्दै आएका छन् । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
स्वास्थ्य सम्बन्धी सचेतना र आर्थिक अभाव तथा सरोकारवाला निकाय महानगरको उदासिनताका कारण सफाइ मजदुरहरू जोखिमपूर्ण रूपमा काम गर्न बाध्य भएका हुन् । यसरी जोखिमपूर्ण काम गर्नेमा भारतीय नागरिकसमेत छन् । त्यसमध्येका एक हुन् २५ वर्षीय श्याम साव ।
उनी डेढ दशकदेखि काठमाडौंमा फोहोर उठाउने काम गरिरहेका छन् । न उनको हातमा फोहोरबाट बच्ने पञ्जा छ, न लामो बुट नै । खाली हातले चप्पल लगाएर उनी महानगरको ट्रकमा गल्लीगल्लीबाट फोहोर उठाउँदै दिनको सुरुवात गर्छन् । काभ्रेकी ३३ वर्षीय सीमा लामाको दिनचर्या पनि सावको जसरी नै सुरु हुन्छ । उनी यो पेसामा लागेको आठ वर्ष भइसक्यो । साव र लामा जस्तै सयौं सफाइ मजदुरहरू सुरक्षित पोसाकबिना नै फोहोर उठाउने काम गर्दै आएका छन् ।
‘आफ्नो कमाइ खानलाउन, बालबच्चा पढाउनै ठिक्क हुन्छ,’ लामाले भनिन्, ‘काम गर्नकै लागि पञ्जा, बुटलगायतका सुरक्षित पोषक किन्न पैसा पुग्दैन ।’ उनले फोहोर उठाउने काम गरेकै कारण कुनै ठुलो रोग लागेको भने आफूलाई याद नभएको बताइन् ।
फोहोरका कारण विभिन्न संक्रामक तथा घातक रोगहरू लाग्ने चिकित्सकहरू बताउँछन् । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिफ कन्सल्टेन्ट ट्रोपिकल मेडिसिन डा। अनुप बाँस्तोलाले फोहोरका कारण सरुवा रोगसँगै छाला, आँखा, श्वासप्रश्वास, स्नायु र रगतमा संक्रमणको जोखिम उच्च हुने बताउनुभयो ।
‘उद्योग, कलकारखाना तथा अस्पतालबाट निस्कने रसायनयुक्त फोहोरहरू झनै घातक हुन्छन्, जसका कारण फोक्सो, मुटु, मस्तिष्कमा समेत असर पर्न सक्छ, क्यान्सर पनि हुन सक्छ ।’ फोहोरमा हुने धारिलो वस्तुहरूले चोट लाग्न सक्छ । गह्रौं वस्तु उचाल्दा हाड तथा मांशपेसीमा असर पुग्न सक्छ ।
फोहोरमा काम गर्दा हुन सक्ने जोखिम न्यूनीकरण गर्न पञ्जा, बुट, मास्क, चस्मा आदि सुरक्षित पोसाकहरू लगाउन चिकित्सकहरूको सुझाव छ । प्रकृतिका आधारमा जोखिमपूर्ण, प्लास्टिकजन्य, तथा प्रांगारिक फोहोरहरूको वर्गीकरण गरी व्यवस्थापन गर्न सके सफाइ कर्मचारीहरूलाई पनि सहज हुने उनीहरू बताउँछन् ।
के छ सरसफाइकर्मीले पाउने सुविधा ?
काठमाडौंमा उपत्यकामा नगरपालिका तथा निजी क्षेत्रले फोहोर उठाउने काम गर्दै आएका छन् । सरोकारवालाहरूले भने आफूहरू मजदुरको स्वास्थ्यप्रति गम्भीर रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले सफाइ कर्मचारीहरूको मासिक तलब न्यूनतम १७ हजार रहेको र त्यसबाहेक वार्षिक रूपमा १० हजार पाँच सय पोसाक भत्ता, दुई वर्षको एक पटक एक/एक जोर बुट र वर्षादी प्रदान गर्दै आएको बताए ।
सफाइ मजदुरहरूले सार्वजनिक बिदामा पनि काम गर्ने भएकाले थप तीन महिनाको तलब पनि दिने गरेको उनको भनाइ छ । प्रवक्ता डंगोलले निजी क्षेत्रलाई पनि मजदुरको स्वास्थ्य अवस्थाको बारेमा सचेत गराउने काम गर्दै आएको बताए । ‘आगामी दिनमा फोहोर व्यवस्थापनको कामलाई थप व्यवस्थित बनाउन लागिरहेका छौं,’ उनले भने, ‘त्यसमा मजदुरहरूको स्वास्थ्यको सवाललाई पनि सम्बोधन गर्नेछौं ।’
सिसडोल सरसफाइ केन्द्रका सञ्चालक नवराज मास्केले सफाइ मजदुरहरूलाई समय समयमा मास्क, पञ्जा, गमबुटहरू प्रदान गर्दै आएको बताए । ‘हामीले बेलाबेलामा सुरक्षाका सामग्रीहरू दिने गरेका छौं,’ मास्केले भने, आफ्नो स्वास्थ्यको बारेमा मजदुरहरू आफैं सचेत हुन जरुरी छ ।’ तर पर्याप्त मात्रामा ध्यान दिन नसकेको उनी स्वीकार गर्छन् । ‘टोले गुण्डाहरू, राजनीतिक संरक्षण लगायतका विभिन्न कारणले गर्दा यो व्यवसाय नै धरापमा छ,’ मास्केले भने, ‘व्यवसाय नै धरापमा रहेकाले पनि मजदुरहरूको स्वास्थ्यमा पर्याप्त ध्यान दिन सकेका छैनौं ।’
सरसफाइको बारेमा मजदुरलाई समय समयमा सचेत गराउने गरेको र आगामी दिनमा मजदुरको स्वास्थ्यमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न थप पहल गर्ने उनको भनाइ छ । सामान्य पोसाकहरू मात्र होइन, हेभी लोड उठाउने उपकरणहरू समेत लिने योजनामा रहेको मास्केले बताए । निजी क्षेत्रमा काम गर्ने सफाइ मजदुरहरूले न्यूनतम आठ हजारदेखि २०/३० हजारसम्म कमाउने गरेका छन् ।