सिरहा : विद्यालयका शिक्षक एवं किशोरलाई समेत महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ । सिरहाको सिरहा नगरपालिका, कर्जन्हा र कल्याणपुर नगरपालिकाका ९० जना किशोरी सहित १४ जना किशोर र २१ जना शिक्षकलाई समेत तालिम दिइएको हो ।

तालिममा सहभागी भएका किशोरहरुले महिनावारीलाई हेर्ने तथा बुझ्ने धारणामा सकारात्मक परिवर्तन गर्न तालिमले सहयोग गरेको बताएका छन् ।
वेल्ट हंगर हिल्फे (Welthungerhilfe) को आर्थिक सहयोग र सबल नेपालको सहजिकरणमा सिरहामा सञ्चालित खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन परियोजना अन्र्तगत किशोर किशोरी केन्द्रित तालिममा स्वास्थ्यकर्मी र केही जनप्रतिनिधि समेत सहभागी भएका थिए । तालिम चार समूहमा विभाजन गरी दिइएको थियो ।
तालिममा महिनावारीको सैद्धन्तिक छलफल, महिनावारी स्वच्छतामा ध्यान दिनपर्ने कुराहरु, महिनावारीका बिषयमा समाजमा विद्यमान नकारात्मक धारणा तथा व्यवहारहरुको बारेमा छलफल गरिनुका साथै महिनावारी भएको समयमा बजारबाट किनेर प्रयोग गरिने स्यानिटरी प्याडको सट्टा घरेलु तहमा नै हातले बुनेर पुनः प्रयोग गर्न सकिने स्यानिटरी प्याड बनाउने तरिकाबारे प्रयोगात्मक अभ्यास समेत गराइएको थियो ।
पुरुष सहभागी भन्छन् : महिनावारीबारे बुझ्न पाएँ
अधिकांश सहभागीहरुले महिनावारीको बारेमा सामान्य सैद्धान्तिक ज्ञान भएतापनि यसै विषयलाई मुख्य छलफलको विषयवस्तु बनाएर समूहमा छलफल गर्न पाएको तथा पुनःप्रयोग गर्न मिल्ने प्याड बनाउने सीप हासिल गर्न पाएकोमा सहभागीहरुले खुसी व्यक्त गरेका छन् । त्यसैगरी तालिममा सहभागी भएका किशोरहरुले महिनावारीलाई हेर्ने तथा बुझ्ने धारणामा सकारात्मक परिवर्तन गर्न तालिमले सहयोग गरेको बताएका छन् ।

त्यसैगरी तालिममा पर्यवेक्षकको रुपमा सहभागिता जनाएका स्थानी तहका पदाधिकारीहरुले महिनावारीको विषयमा आफूहरुले विगतमा कुनै प्राथमिकता दिने नगरेको, यस क्षेत्रमा कार्यक्रम तथा बजेट विनियोजन गर्ने परिपाटी नभएको बताउनुभयो ।
तालिमको पर्यवेक्षण गरेपछि आउँदो दिनमा यस बारेमा संवेदनशील हुनुपर्ने, अझै पनि धर्म, संस्कृति र परम्पराको नाममा लुकेर बसेका नकारात्मक सामाजिक व्यवहारहरुलाई घटाउन कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस भएको धारणा व्यक्त गर्नुभयो ।
तालिममा कसले के भने ?
आयोजक संस्था सबल नेपालका परियोजना संयोजक विभूषण कार्कीले महिनावारीका सम्बन्धमा समाजमा अझै पनि विद्यमान नकारात्मक धारणाहरु हटाउन, महिनावारीको समयमा ध्यान दिनुपर्ने स्वच्छताजन्य व्यवहारहरु अपनाउन, स्थानीय तह, विद्यालय तथा संघसंस्थाहरुलाई बालिका तथा महिलामैत्री नीति निर्माण गर्न, कार्यक्रम तथा बजेट विनियोजन गर्न तथा तालिम प्राप्त जनशक्ति मार्फत यस विषयमा निरन्तर पैरवी गर्न सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।
महिनावारी भएकै कारण बालिकाहरुले विद्यालय छोडेर हिंड्नुपर्ने, आफ्नो नियमित कामकाजलाई थाती राख्नुपर्ने परिपाटीको चाँडै नै अन्त्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले महिला तथा पुरुष दुबै पक्ष मिलेर नै महिनावारीलाई एक सामान्य र नियमित प्रक्रियाको रुपमा समाजमा स्थापित गराउनु पर्ने, यससँग जोडिएर महिलालाई होच्याउने तथा विभिन्न सामाजिक कार्यहरुबाट बञ्चितिमा पार्ने कार्य तत्काल रोक्नुपर्ने तथा सबै विद्यालय, सामाजिक संस्था, सार्वजनिक स्थललाई महिलामैत्री बनाई महिनावारीको समयमा प्रयोग गर्ने प्याड तथा सरसफाइको लागि आवश्यक पर्ने सुरक्षित स्थल, सफा पानीको व्यवस्था गर्न र महिनावारी भएकै कारण बालिकाहरुले विद्यालय छोडेर हिंड्नुपर्ने, आफ्नो नियमित कामकाजलाई थाती राख्नुपर्ने परिपाटीको चाँडै नै अन्त्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै वेल्ट हंगर हिल्फे (Welthungerhilfe) का परियोजना संयोजक पदम लम्सालले सन् २०१४ बाट हरेक वर्ष अंग्रजी मे महिनाको २८ तारिखलाई महिनावारी स्वच्छता दिवसको मनाउन थालेको जानकारी गराउनुभयो । उहाँले यसलाई एक दिने दिवसको रुपमा मात्र नभई एक अभियानकै रुपमा वर्षभरिनै कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका पोषण अधिकृत प्रमित साहले तालिमलाई तालिममा मात्र सिमित नराखी आगामी दिनमा निरन्तर रुपमा छलफल, समिक्षा तथा साथी शिक्षाको माध्यमबाट थप किशोर किशोरीहरु सम्म पुगेर अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
तालिमको व्यवस्थापन तथा समन्वय सबल नेपालको तर्फबाट सम्बन्धित नगरपालिकामा खटिने वास अधिकृतहरु अर्चना यादव, ममता वर्मा र शशांक खतिवडाले गर्नु भएको थियो ।
मितेरी जैविक प्याड उत्पादन केन्द्र, भरतपुर चितवनकी तालिम संयोजक साबित्री भण्डारीले तालिमको सहजिकरण गर्नु भएको थियो ।


2872 पटक हेरिएको 

