खानेपानीमा ६ बर्षसम्म लगानी, केही दिनमै घरघरमा पानी

 

काठमाडौ : चन्द्रागिरी नगरपालिकाको वडा नं. १२ को धारीगाउँ, मुख्य गाउँ, चुनदेवी, गैरीगाउँ र सिर्जनाचोक जताततै यत्तिबेला एउटै कुराको चर्चा छ ‘असारभित्रै घरघरमा खानेपानी वितरण हुने रे !’

बलम्बु ७ ,८ र ९ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले गरिरहेको कामले पनि उपभोक्ताहरुले सुनेको कुरालाई थप मद्दत पु-याएको छ ।

करिब ६ करोड लागत अनुमान गरिएको खानेपानी आयोजनामा उपभोक्ताले १ प्रतिशतले हुन आउने ६ लाख रुपैयाँ सहलगानी गरेपछि खानेपानी आयोजना निर्माणको काम सुरु भएको थियो ।

बलम्बु ७,८,९ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र प्रकाश खत्रीका अनुसार मुख्य लाइन र शाखा लाइन गरी करिब १५ किलोमिटर पाइप मध्ये २ किलोमिटर पाइप विछ्याइसकेको छ ।

चालु आर्थिक बर्षमा विनियोजन भएको ४० लाख रुपैयाँ मध्ये ३५ लाख रुपैयाँको पाइप र ५ लाखको फिटिङ्सका लागि टेण्डर खुलाइएको जानकारी पाएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो । यसबर्ष प्राप्त पाइपले ४ सय घरमा धारा जडान गर्ने उपभोक्ता समितिको योजना छ ।

उहाँका अनुसार एउटा ओभरग्राउण्ड ट्याङ्क, डेढ लाख लिटरको रिजर्भ्वायर ट्याङ्क ओभरग्राउण्ड ट्याङ्क निर्माण सम्पन्न भइसकेका छन् भने अर्को रिजर्भ्वायर ट्याङ्क निर्माण गर्न र बोरिङ गर्न बाँकी छ ।

२०७१/०७२ मै पाँच बर्षभित्र सम्पन्न हुने गरी सुरु भएको आयोजना छैंटौं बर्षमा प्रवेश गरिसकेको छ । अहिलेसम्म एउटा डिप बोरिङबाट प्रति सेकेण्ड ७ लिटर पानी बोरिङ गरी ८ ठाउँमा बनाएको सार्वजनिक धारा मार्फत पानी वितरण भईरहेको छ ।

खानेपानी उपभोक्ता थपिदै

खानेपानी आयोजना सम्पन्न हुने चरणमा रहेका बेला खानेपानी उपभोक्ता थपिन थालेका छन् । उपभोक्ता समितिले खानेपानीको धारा जडान गर्न चाहनेलाई २ हजार रुपैयाँ शुल्क तोकेको छ । त्यही शुल्क बुझाउन खानेपानीको लागि निवेदन दिने क्रम बढेको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब १ हजार उपभोक्ता भइसकेका छन् भने अहिले पनि थपिने क्रममा छन् । करिब ६ करोड लागत अनुमान गरिएको खानेपानी आयोजनामा उपभोक्ताले १ प्रतिशतले हुन आउने ६ लाख रुपैयाँ सहलगानी गरेपछि खानेपानी आयोजना निर्माणको काम सुरु भएको थियो ।

केही समय अघि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौंडाका प्रमुख नन्दलाल बन्जाडेको नेतृत्वमा गएको टोलीले चन्द्रागिरी नगरपालिकाको वडा नं. १२ मा निर्माणाधीन बलम्बु ७ ,८ र ९ खानेपानी तथा सरसफाइ आयोजना सहित बूढानीलकण्ठको धुबीढुङ्गा खानेपानी तथा सरसफाइ आयोजनाको पनि अनुगमन गरेको थियो ।

 

 

उपल्लो तहबाट बेला बेलामा गरिने अनुगमनले खानेपानी उपभोक्ता समितिलाई सल्लाह सुझाव र मार्गदर्शन प्राप्त हुने भएकाले अनुगमन भईरहनुपर्ने अध्यक्ष खत्रीले बताउनुभयो ।

‘बेला बेलामा अनुगमनमा आईदिनुभयो भने हामी पनि सजग हुन्छौं, स्टिमेट अनुसार भए नभएको पनि थाहा हुन्छ, पक्की संरचना बन्छन् अनि खानेपानी उपभोक्ताहरुको पनि मनोबल बढ्छ ।’ उहाँले भन्नुभयो । ‘हामीले सरहरु आउँदा पाईप, डिपबोरिङ र ओभरग्राउण्ड ट्याङ्कको टेण्डर भइसकेको खबर पायौं, हामी उत्साहित छौं ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार