नवलपरासी : नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी कलावती मुसहरले महिनावारी भएको कुरा घरका सदस्य र आफन्तलाई लाजका कारण भन्नै सक्नुभएन ।
त्यस्तो बेलामा फालिएका कपडालाई बेरेर प्याडका रूपमा प्रयोग गर्नुभयो । जसले गर्दा काम गर्न असहज र स्वास्थ्यमा असर पुगेको थियो । बजारमा उपलब्ध हुने स्यानिटरी प्याड किन्न पैसा पनि हुन्थेन । जसोतसो रकमको जोहो गरे पनि गाउँका पसलमा प्याड बेच्न राख्दैनथे ।
बजारसम्म धाउनुभन्दा पुरानै कपडाले काम चलाउँहुन्थ्यो । कलावती मुसहरले जस्तै महिनावारीका बेला यहाँका महिलाले फालिएका कपडाका टुक्रा प्रयोग गर्थे । ती सफा हुन्थेनन् । जसले गर्दा विभिन्न संक्रमणको खतरा हुन्थ्यो । प्रयोग गर्न झन्झटिलो पनि हुन्थ्यो ।
अहिले गाउँभरिकै महिलाले स्यानिटरी प्याड बनाउन जानेका छन् । ‘पुराना टालाले स्वास्थ्यमा असर पुग्दोरहेछ । पहिले यसबारे जानकारी थिएन । अहिले स्यानिटरी प्याड बनाउन जानेपछि स्वास्थ्यसँगै रकम पनि बचत भएको छ ।’ कलावतीले भन्नुभयो ।
विभिन्न संघसंस्थाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र स्थानीय तहले स्वस्थ रहन सुरक्षित प्याड प्रयोग गर्नुपर्ने अभियान चलाएपछि पुराना र थोत्रा कपडाका टालाको सट्टा आफंैले तयार पारेको स्यानिटरी प्याड लगाउन थालेका हुन् ।
जनचेतनाका लागि अहिले गाउँ–गाउँमा यसबारे तालिम र प्रशिक्षण दिन सुरु गरिएको छ । पाल्हीनन्दन–२ का महिलाले तालिम लिएर धमाधम प्याड बनाईरहेका छन् । गाउँका ४४ महिलाले एकैपटक तालिम लिएका हुन् । उनीहरूले साथीहरूलाई यसको महत्त्व र प्रयोगबारे सिकाइरहेका छन् ।
प्याड नहुँदा फोहोर कपडाको प्रयोगले रोगको संक्रमण र पाठेघरमा पुग्ने असरबारे तालिममा सिकाइएको थियो । केहीले व्यवसायिक रूपमा उत्पादन गर्ने सोच बनाएका छन् । गाउँपालिकाका महिलाले मात्र होइन, देवचुलीका किशोरीले पनि आफ्ना लागि आफैं प्याड बनाउँछन् ।
बजारमा पाइने प्याड एकपटक प्रयोग गरेपछि फाल्नुपर्ने र खर्चिलो हुने भएकाले उनीहरूले घरमा सुतीको कपडा र धागो प्रयोग गरेर प्याड बनाउन थालेका हुन् । किशोरी अवस्थादेखि सुरक्षित र स्वस्थकर प्याड प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले आफैं अभियानमा सहभागी भइरहेका छन् । उनीहरूले प्याड बनाउने मात्र होइन, पहिलो पटक महिनावारी हुँदाका क्षणबारे पनि सबै साथीहरूसँग अनुभव साटासाट गर्ने र महिनावारी हुने उमेर पुगेकालाई यसबारे जानकारी गराउने गर्छन् ।


975 पटक हेरिएको 

