काठमाडौ : ‘अब त काम थालौं’ भन्ने नाराका मर्यादित महिनावारी स्वच्छता दिवस राष्ट्रिय स्तरमा भव्य रुपले मनाईने भएको छ । खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा मनाईने कार्यक्रम दिउँसो १ बजेपछि सुरु हुनेछ ।
जमलको होटल यल्लो प्यागोडामा हुने कार्यक्रममा महिनावारी स्वच्छता व्यवस्थापन सँग सम्बन्धित भिडियो, पिएसए, खानेपानी तथा ढल व्यवस्थापन विभागले तयार पारेको ब्रोसर, जीआईजेटले तयार पारेको भिडियो, फ्लिप चार्ट, स्वच्छता तथा व्यवहार परिवर्तन सम्बन्धी तयार पारिएका अन्य सामग्रीहरुको बिमोचन गरिने महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालका संयोजक गुणराज श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिवसकै अवसरमा विभिन्न पेशागत संघसंस्था तथा महासंघले गरिरहेको काम, अवसर, प्रभाव तथा प्रतिबद्धताका बिषयमा सम्बन्धित संघ संगठन बीच नै छलफल हुनेछ । छलफलमा सामुदायिक रेडियो सूचना नेटवर्क, गैरसरकारी संस्था महासंघ, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल, रेडक्रस नेटवर्क, राष्ट्रिय अपाङ्ग महासंघ, स्वास्थ्य व्यवसायी राष्ट्रिय महासंघ, वास मिडिया फोरमले भाग लिनेछ ।
महिनावारी स्वच्छता व्यवस्थापन सञ्जाल र राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको संयुक्त आयोजनामा ‘मर्यादित महिनावारी स्वच्छता दिवस’ मनाउन लागिएको हो । समितिले प्रदेश, जिल्ला तथा नगरपालिका र गाउँपालिका स्तरमा आफ्नो स्रोत साधनको समुचित प्रयोग गरी मर्यादित महिनावारी स्वच्छता दिवस मनाउन यस अघि नै परिपत्र गरिसकेको छ ।
सन् २०१४ देखि हरेक बर्षको मे २८ तारिखलाई विश्व महिनावारी स्वच्छता दिवसको रुपमा मनाईदै आएको छ ।


1297 पटक हेरिएको 

