आज मर्यादित महिनावारी स्वच्छता दिवस, ‘अब त काम थालौं’ भन्ने नाराका साथै मनाईंदै

काठमाडौ : आज विश्व महिनावारी स्वच्छता दिवस । नेपालमा मर्यादित महिनावारी स्वच्छता दिवस भनेर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । महिनावारी समस्यालाई गहिरिएर अध्ययन गर्नुका साथै उचित व्यवस्थापनका लागि हरेक वर्ष मे २८ तारिखमा यो दिवस मनाउने गरिएको हो ।

मर्यादित महिनावारी स्वच्छता दिवसकै अवसरमा नेपालमा पनि बिभिन्न सरकारी र गैरसरकारी संस्थाहरुले जनचेतनामूलक कार्यक्रम गर्दैछन् । महिनावारी भएका महिलाका लागि आवश्यक स्वास्थ्य सुबिधा र यस सम्बन्धि गलत धारणा हटाउनु यो दिवसको मुख्य लक्ष्य हो ।

‘अब त काम थालौं’ भन्ने नाराका मर्यादित महिनावारी स्वच्छता दिवस राष्ट्रिय स्तरमा भव्य रुपले मनाईदैछ । खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा कार्यक्रम जमलको होटल यल्लो प्यागोडामा हुने कार्यक्रम दिउँसो १ बजेपछि सुरु हुनेछ ।

कार्यक्रममा महिनावारी स्वच्छता व्यवस्थापन सँग सम्बन्धित भिडियो, पिएसए, खानेपानी तथा ढल व्यवस्थापन विभागले तयार पारेको ब्रोसर, जीआईजेटले तयार पारेको भिडियो, फ्लिप चार्ट, स्वच्छता तथा व्यवहार परिवर्तन सम्बन्धी तयार पारिएका अन्य सामग्रीहरुको बिमोचन गरिने महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालका संयोजक गुणराज श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिवसकै अवसरमा विभिन्न पेशागत संघसंस्था तथा महासंघले गरिरहेको काम, अवसर, प्रभाव तथा प्रतिबद्धताका बिषयमा सम्बन्धित संघ संगठन बीच नै छलफल हुनेछ । छलफलमा सामुदायिक रेडियो सूचना नेटवर्क, गैरसरकारी संस्था महासंघ, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल, रेडक्रस नेटवर्क, राष्ट्रिय अपाङ्ग महासंघ, स्वास्थ्य व्यवसायी राष्ट्रिय महासंघ, वास मिडिया फोरमले भाग लिनेछ ।

महिनावारी स्वच्छता व्यवस्थापन सञ्जाल र राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको संयुक्त आयोजनामा ‘मर्यादित महिनावारी स्वच्छता दिवस’ मनाउन लागिएको हो । समितिले प्रदेश, जिल्ला तथा नगरपालिका र गाउँपालिका स्तरमा आफ्नो स्रोत साधनको समुचित प्रयोग गरी मर्यादित महिनावारी स्वच्छता दिवस मनाउन यस अघि नै परिपत्र गरिसकेको छ ।

यस्तै महिनावारी स्वच्छताको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्थाले समेत आ आफ्नै कार्य क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरी मर्यादित महिनावारी दिवस मनाउँदैछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार