माछापुच्छ्रे गाउँपालिकाका सबै विद्यालय स्यानिटरी प्याडयुक्त

कास्की : कास्कीको माछापुच्छ्रे गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालय आउँदो आर्थिक वर्षदेखि स्यानिटरी प्याडयुक्त हुने भएका छन् । गाउँपालिकाले बिहीबार आर्थिक वर्ष ०७५/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै विद्यालयलाई स्यानिटरी प्याडयुक्त बनाउने घोषणा गरेको हो ।

किशोरीहरु महिनावारीकै कारण बीचैमा पढाइ छाड्ने लगायत समस्या उत्पन्न हुन थालेपछि गाउँपालिकाले नै स्यानिटरी प्याड वितरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकाभरि ४३ वटा सामुदायिक विद्यालय छन् । ती विद्यालयमा आधा भन्दा बढी विद्यार्थी किशोरी रहेको अध्यक्ष गुरुङले बताउनुभयो । विद्यालय बीचमै नछाडून् र आफ्नो स्वास्थ्यमा पनि ख्याल राखून् भनेर स्यानिटरी प्याड वितरण गर्न लागेको तर संस्थागत विद्यालयको हकमा भने यो सुविधा लागू नहुने उहाँले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष कृष्णा पौडेल दवाडीले किशोरी प्रजनन् शिक्षालाई पनि जोड दिइएको बताउनुभयो । ‘किशोरी प्रजनन् शिक्षाबाट चेतनामा सकारात्मक प्रभाव पर्ने अपेक्षा राखेका छौं,’ उहाँले भन्नुभयो ‘यसबाट बाल विवाह, लैंगिक हिंसा न्यूनीकरणमा टेवा पुग्ने विश्वास लिएका छौं ।’ गाउँपालिकाले स्वास्थ्य सेवामा सुत्केरी हुनेलाई प्रोत्साहन पोषण पनि प्रदान गर्ने नीति लिएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ को लागि ५६ करोड ६१ लाख रुपैयाँ बजेट गाउँपालिकाकी उपाध्यक्ष कृष्णा पौडेल दवाडीले सार्वजनिक गर्नुभएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार