
काभ्रेपलाञ्चोक : प्रदेश ३ को काभ्रेपलाञ्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । प्रतिनिधीसभा सांसद गंगाबहादुर दोङ्गु (बमध्वज) को प्रमुख आतिथ्यमा काभ्रेलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख लोक चौलागाईका अनुसार काभ्रेको ९१ हजार ८ सय ९५ घरधुरीमा शौचालय निर्माण भएका छन् ।
सार्वजनिक स्थल तथा संस्थागत शौचालय निर्माण गरी प्रयोग आएपछि काभ्रेलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको इञ्जिनियर चौलागाईले जानकारी दिनुभयो ।
खुला दिसामुक्त घोषणा सभामा नेपाल नगरपालिका महासंघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका मेयर अशोक व्यञ्जु श्रेष्ठले धुलिखेललाई उत्कृष्ट र नमुना नगरपालिकाको रुपमा विकास गरिने बताउनुभयो । यस्तै राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र कुमार झा ले काभ्रेली जनताले चर्पी निर्माण गरी १ अर्ब २० करोड, ६८ लाख, ५७ हजार बराबरको सरसफाइमा योगदान दिएको बताउनुभयो ।
उहाँले खुला दिसामुक्त घोषणा भएको जिल्लामा देशको ६५ औं स्थानमा काभ्रेको नाम आएपनि पूर्ण सरसफाइ उन्मुख जिल्लामा पहिलो नाम बनाउने अवसर पनि उत्तिकै रहेको बताउनुभयो । स्मार्ट सिटीका कुरा गर्दा सरसफाइको बिषयलाई कहिल्यै छुटाउने नहुने उहाँको भनाई थियो ।

खुला दिसामुक्त घोषणा समारोहका प्रमुख अतिथी एवं प्रतिनिधीसभा सांसद गंगाबहादुर दोङ्गु (बमध्वज) ले खुला दिसामुुक्त घोषणा गरेपछि अब पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलाप सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले खुला दिसामुक्त घोषणा पछि चुप लागेर बस्न नहुने बताउनुभयो ।
जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति उद्धव केसीले काभ्रेले अब पूर्ण सरसफाइको यात्रा तय गर्ने बताउनुभयो । उहाँले बिगतमा खुला दिसामुक्त अभियानमा जस्तै पूर्ण सरसफाइको यात्रामा समेत साथ दिन सरोकारवाला सबैलाई आग्रह गर्नुभयो ।
प्रदेश ३ को १३ जिल्ला मध्ये अब काठमाडौ, सिन्धुपाल्चोक र दोलखालाई मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी छ ।
काभ्रे खुला दिसामुक्त घोषणा समारोहका थप फोटाहरु :





2482 पटक हेरिएको 

