पानी ओसार्न डोको किन्ने पैसाले महसुल तिर्दै

🔗
14
Shares

 

प्युठान : प्युठान नगरपालिका–५ टाकुराकी पिमा घर्तीले खानेपानी ओसार्नकै लागि डोको नकिनेको धेरै भईसकेको छ । डेढ घन्टा टाढा रहेको पँधेराबाट डोकोमा पानी बोकेर खाँदै आएकी पिमाको घरआँगनमै अहिले खानेपानीको धारा छ । बिगतमा डोको किन्दा हुने खर्चले अहिले उहाँ खानेपानीको महसुल तिर्नुहुन्छ । करिब उत्ति नै रकम खर्च भएपनि खानेपानी ओसारेर पिउनुपर्ने दुःखबाट मुक्ति मिलेको छ ।

‘पानी बोक्ने डोको किन्दा लाग्ने पैसाले अहिले पानीको बिल तिर्न थालेकी छु’ खानेपानी आयोजना निर्माण भएपछि खुसी हुँदै उहाँले भन्नुभयो ‘पानी बोक्न महिनैपिच्छे डोको किन्नुपथ्र्यो, अब डोकोमा पानी ओसार्ने दुःखबाट मुक्ति मिलेको छ ।’

प्युठान नगरपालिका–५ टाकुरा गाउँमा सोलारको माध्यमबाट खानेपानी आयोजना निर्माण भएपछि खानेपानीको लागि थाप्लोमा नाम्लो नटुट्ने पिमा घर्ती जस्ता धेरैले मुक्ति पाएका छन् । लिफ्ट प्रणाली मार्फत ४४ लाख रुपैयाँ लागतमा गाउँमा खानेपानी योजना सम्पन्न भएपछि बर्षौदेखि गाउँलेले भोग्दै आएको दुःख समाप्त भएको वडाध्यक्ष लक्ष्मण भण्डारीले बताउनुभयो ।

खानेपानी आयोजना निर्माणमा नगरपालिकाले अघिल्लो आर्थिक वर्ष १२ लाख र चालू आवमा २३ लाख रुपैयाँ सहयोग गरेको छ । स्थानीयवासीले आयोजनामा १० लाख तीन सय ७२ रुपैयाँ बराबरको श्रमदान गरेका छन् । आयोजनाबाट ३७ घरधुरी लाभान्वित भएका वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

गाउँमा पानी वितरणको लागि चार सय १८ मिटरको उचाइमा १४ हजार लिटर क्षमताको ट्यांकी निर्माण गरिएको नगरपालिकाका इन्जिनियर दिनेश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानीको व्यवस्थापनका लागि मासिक ६ सय रुपैयाँ दिएर बिहान ६ बजे देखि १० बजे सम्मका लागि हेरालुको समेत व्यवस्था गरिएको छ ।

‘आयोजनालाई दीर्घकालीन रूपमा टिकाइराख्न उपभोक्ता सचेत बन्नुपर्छ,’ केसीले भन्नुभयो ‘पाइप टुटफुट हुनबाट जोगाउने, सोलारमा धुलोमैलो जम्न नदिने हो भने आयोजना दिगो बन्छ ।’ विगतमा गरिबी निवारण कोष, पश्चिम नेपाल ग्रामीण खानेपानी परियोेजनाले समेत टाकुरामा खानेपानी आयोजना निर्माण गरेका थिए । तर, संरक्षणको अभावमा मुहान सुकेपछि गाउँमा पानीको संकट सिर्जना भएका थियो ।

गाउँमा खानेपानीको अभाव टरेसँगै स्थानीयले गाउँमा मोटरबाटोको माग गर्न थालेका छन् । गाउँमा पानीको मुहान नहुँदा स्थानीय डेढ घन्टा टाढाको जंगलमा रहेको जिमुरे मुहानमा पानी लिन जाने गरेका थिए । ‘एकजनाले दिनभरमा चार गाग्री पानी ओसार्दा पनि पुग्दैनथ्यो,’ स्थानीय ज्ञानबहादुर कुमालले भनुभयो, ‘अहिले त सबैका घरका धारामै पानी आउन थालेको छ । हामीलाई निकै सहज भएको छ ।’ अब हामीलाई सडक चाहिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार