पानीको पुनःभरण किन ? कसरी गर्ने पुनःभरण ?

 

तराई तथा काठमाडौ उपत्यकाका लागि भूमिगत जल भण्डारको स्रोतको रुपमा रहेको भूमिगत पानीको सतह दिन प्रतिदिन घटिरहेको छ । अर्थात जमिन मुनिको पानी पृथ्वीको गर्भमा भासिदै गएको छ । केही समय पहिले सम्म ५०/६० फिटको गहिराईमै भेटिने पानीको सतह भेट्नलाई अहिले धेरै गहिराईमा पुग्नुपर्छ ।

पृथ्वीको भित्री सतहको पानी घट्नुु निक्कै चिन्ताको विषय हो । जमिनको तापक्रम सन्तुलनमा राख्न भूमिगत पानीको महत्वपूर्ण भूमिका हुन्छ । पानीको सतह भासिदै जाँदा  तराइ क्षेत्रमा ट्युबेल तथा इनारको पानी रित्तिदै गएको छ । जथाभावी पानी बोरिङ गर्ने तर पानीको रिचार्ज अर्थात पुनःभरण नहुँदा यो समस्या सिर्जना भएको हो ।

अहिले आकाशबाट परेको पानी ढलको माध्यमबाट सीधै खोलामा मिसाइन्छ । यसले खोलामा जाने पानीको मात्रा बढाएर कतै भलबाढी एवं खोला बस्तीमा पसेर मानिसको उठीबास लगाईरहेको छ । बर्षातको समयमा खोला बस्ती तथा खेतमा पस्दा तराईका कयौं खेतीयोग्य जमीन बगरमा परिणत भएको खबर बर्षेनी सुन्दै र देख्दै आएका छौं ।

शहरमा थोरै पनि खाली भाग नराखी घर बनाउने, घरको आँगन तथा थोरै खाली ठाउँमा समेत ढलान गर्ने र कालोपत्रे सडकका कारण जमिनले पानी सोस्न पाइरहेको छैन । अर्थात जमिनमुनिको पानी निकाल्ने काम मात्र भइरहेको छ तर जमिनभित्र पानी पस्न दिइएको छैन । त्यो तपाई हामीले नै हो । हामीले बनाउने ढलान सहितका संरचना घर, पुल पुलेसो, सडक बनाउँदा पानीको मात्रा सिधै जमिनमा छिर्न पाईदैन ।

पहिले शहरमै पनि यत्ति धेरै घरहरु बनेका थिएनन् । जसका कारण जमिनले पानी सोस्न पाउथ्यो । तर अहिले शहरमा बढ्दो बस्ती र लहरै बनेका घरहरु बनेका कारण ढलान भएको क्षेत्रबाट जमिन मुनि पानी पस्नै पाएको छैन अर्थात रिचार्ज हुुनै पाएको छैन ।

जमिन मुनिको पानी कसरी जोगाउने त ?

खाली क्षेत्र छोड्ने

जमिन मुनिको पानी जोगाउनका लागि पानीको पुनःभरण (रिचार्ज) हुनुपर्दछ । यसका लागि व्यवस्थित बस्ती विकास हुनु जरुरी छ । घर बनाउँदा भए भरका जमिन ओगटेर नबनाई खाली क्षेत्र छोड्नु पर्दछ । उक्त खाली क्षेत्र ढलान नगरी खुला राख्नुपर्दछ ।

रिचार्ज पिट (पुनःभरण खाल्डो) बनाउने

जमिन मुनि पानीको पुनःभरणका लागि रिचार्ज पिट बनाउनुपर्दछ । रिचार्ज पिट भनेको वर्षाको पानीलाई जमिनमुनि सोसिन दिएर भूमिगत जलभण्डार पुनर्भरण (रिचार्ज) गर्न खाल्डो खनिने विधि हो । पिटको लागि २ मिटर गहिरो, १ मिटर लामो र १ मिटर चौडाइको खाडल बनाउन सकिन्छ ।

खाल्डलमा ढुंगा, ग्राबेल (गिटी), मोटो बालुवा क्रमशः मुनिबाट राख्दै जानुपर्छ । त्यसमा छतको पानी पाइप मार्फत् पिटमा पु¥याउनुपर्छ । यस्तो खाल्डोमा १ हजार वर्गफिट क्षेत्रफलसम्म भएको घरको छतको पानी हाल्न सकिने प्राविधिकहरु बताउँछन् । तर छतको क्षेत्रफल बढेसँगै पिटको पनि लम्बाइ र चौडाइ बढाउन आवश्यक हुन्छ ।

बर्षातको पानीलाई ढल मार्फत सीधै खोलामा नपठाउने

अहिले जत्ति पनि ढल प्रणाली छन्, सडकको दायाँ बायाँ बग्ने पानीलाई जम्मा गरेर सीधै खोलामा मिसाउने गरिएको छ । यसले बाढीको जोखिम त बढाएको छ नै, भूमिगत पानी रिचार्ज हुन पानी पाउँदैन । यसर्थ बर्षातको पानीलाई जमिन मुनि पठाउने व्यवस्था मिलाउनुपर्छ । न कि सीधै खोलामा ।

ऐन कानुनले बाँध्ने

घर बनाउँदा रिचार्ज गर्ने स्थान अनिवार्य बनाउनुपर्ने, भूमिगत पानीको बोरिङ गर्न पानीको प्रयोजन खुलाएर अनिवार्य सरकारी निकायबाट अनुमति लिनुपर्ने लगायत नियम बनाएर लागु गर्न सकेमा केही हदसम्म भूमिगत पानीको सतह अहिलेकै दरमा घट्न पाउँदैन । कतिपय नगरपालिकाले यो कामको थालनी गरिसकेको छ । तर यसको कार्यान्वयन कतिको भईरहेको छ भनेर हेर्न भने जरुरी छ ।

धरान उपमहानगरपालिकाले घरनक्साको डिजाइनमा नै रिचार्ज पिट हुनुपर्ने केही समय पहिले नै लागु गरिसकेको छ । यसका लागि उपमहानगरपालिकाले घर बनाउने प्राविधिकलाई तालिम समेत दिईसकेको छ ।

यसर्थ भूमिगत जल भण्डारको स्रोत रित्तिन नदिन सरकार, घरधनी तथा आम नागरिक जिम्मेवार हुनुपर्दछ । हरेक नागरिक वातावरण जोगाउने काममा जिम्मेवार नभएसम्म  भावी पुस्ताले खानेपानीको चरम संकट झेल्नुपर्ने अवस्था आउन सक्छ । वातावरणविदहरुले जमिन मुनिको पानी घट्दै जाँदा पर्यावरणीय असन्तुलन हुन थालेको बताईरहेका छन् भने भूगर्वविदहरुले जमिनको सतह नै भासिने प्रति सचेत तुल्याउँदै आएका छन् । यसर्थ यो भयावह अवस्था आउन नदिन हामी सबै सचेत बन्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार