डोटी : छाउ नबार्ने महिलालाई डोटीको पूर्वचौकी गाउँपालिकाले पुरस्कार दिने भएको छ । गाउँपालिकाले छाउपडी नबारी घरभित्रै परिवारसँग बस्ने महिलालाई ३ देखि ५ हजार रुपैयाँ पुरस्कार गर्ने नीति पारित गरेको हो ।
छाउपडीका कारण महिलाको ज्यान असुरक्षित हुने र कुसंस्कारले समेत निरन्तरता पाउने भएपछि महिलालाई पुरस्कार मार्फत यस्तो प्रथा त्याग्न प्रेरित गर्न लागिएको गाउँपालिका अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिनुभयो ।
छाउप्रथा मानेर कुप्रथालाई निरन्तरता दिनेलाई गाउँपालिकाले दिने सेवा सुविधाबाट बन्चित गराएर दण्डित गरिने अध्यक्ष बोगटीले बताउनुभयो ।
‘छाउगोठमा जो बस्दैनन्, जसले छाउ बार्दैनन्, परिवारसँगै घरमा बस्छन्, त्यस्ता महिलालाई पुरस्कृत गरिनेछ,’ अध्यक्ष बोगटीले भन्नुभयो ‘जसले छाउबार्ने भन्दै कानुनलाई नै चुनौती दिन्छ त्यस्तालाई कारबाही स्वरुप गाउँपालिकाबाट दिइने सुविधा, मृत्यु दर्ता, जन्मदर्ता, सामाजिक सुरक्षा भत्ता, बिवाह दर्ता लगायतका सुविधा दिइने छैन ।’
अध्यक्ष वोगटीले आजको युगलाई मूल्यांकन गरेर सबैले परिवर्तन हुनुपर्ने समय आएको समेत बताउनुभयो ।


4947 पटक हेरिएको 

