फोहोर न्यूनीकरण गर्न उपत्यकाका नगरपालिकाहरुले स्रोतमै बर्गीकरण गर्ने

 

काठमाडौ : काठमाडौ उपत्यका भित्रका १८ वटै नगरपालिकाहरुले ठोस फोहोरमैला न्यूनीकरणका लागि स्रोतमै बर्गीकरण गर्ने भएका छन् । काठमाडौ महानगरपालिका, वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा बसेको बैठकमा काठमाडौ उपत्यकामा उत्सर्जन हुने फोहोरमैलालाई स्रोतमै बर्गीकरण गरी फोहोर न्यूनीकरण गर्न सम्बन्धित सबै पक्ष सहमत भएका हुन् ।

किर्तिपुर नगरपालिकाले यस अघि नै जैविक र अजैविक फोहोरको बर्गीकरण गर्न लगाई फरक – फरक दिनमा फोहोर संकलन गर्दै आएको छ । काठमाडौ महानगरपालिकाले समेत आउँदो आईतबारदेखि महानगरपालिकाको वडा नं. १२, १८ र २१ मा स्रोतमै वर्गीकरण गरी चार दिन कुहिने फोहोर र २ दिन नकुहिने फोहोर संकलन गर्ने तयारी गरेको छ ।

वैठकमा सम्बन्धित नगरपालिकाको वातावरण व्यवस्थापन शाखाका प्रमुख एवं प्रतिनिधीका साथै पूर्व विज्ञान प्रविधि मन्त्री गणेश शाह, तारकेश्वर नगरपालिकाकी उप मेयरका साथै अन्य सरोकारवालाको पनि उपस्थिति थियो ।

काठमाडौ उपत्यकामा उत्सर्जन हुने फोहोरमैलालाई स्रोतमै बर्गीकरण गर्ने बिषयमा बसेको बैठकमा आकाशेपानी संकलन र पुनर्भरणका बिषयमा समेत व्यापक छलफल भएको थियो । बैठकमा गुठी संस्थाका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले काठमाडौ महानगरपालिकाले घोषणा गरेजस्तै ग्राउण्ड वाटर रिचार्ज सम्बन्धी कार्यक्रम अन्य नगरपालिकाले समेत अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

‘काठमाडौ उपत्यकामा भूमिगत पानीको सतह भासिदै गएको भन्ने कुरा आएको छ, यसका लागि सबैभन्दा पहिले उपत्यका भित्रका सबै नगरपालिका मिलेर रिचार्ज जोन म्यापिङ गर्नुपर्छ, ग्राउण्ड वाटर लेभलको अध्ययन भएपछि बल्ल त्यसको आधारमा रिचार्ज एरियाहरु तोक्नुपर्छ’ अमात्यले भन्नुभयो ।

उहाँले नगरपालिकाले नक्सा पास गर्दा नै आकाशेपानी संकलन सम्बन्धी प्रविधि अनिवार्य बनाउन सके गाह्रो नहुने बताउनुभयो । सेवा प्रदायकहरुको क्षमता अभिबृद्धि र हरेक घरको सहभागिता बढाउन आकाशेपानी संकलनमा राज्यको लगानी र मिडिया परिचालन हुनुपर्ने उहाँको धारणा थियो ।

बैठकमा सिसडोल ल्याण्डफिल साइटको फोहोरमैला व्यवस्थापन, पूर्वाधार विकास र त्यससँग सम्वन्धित मर्मत सम्भारका लागि छुट्टै फोहोरमैला व्यवस्थापन कोष खडा गर्ने बिषयमा समेत छलफल भएको थियो ।

उक्त बिषय आगामी आईतबार हुने मेयर फोरममा शसक्त रुपमा उठाईने भएको छ । केही समय अघि फोहोरमैलाबाट प्रभावित सिसडोलका बासिन्दाको समस्या समाधानका लागि गठित कार्यदलले सिसडोल ल्याण्डफिल साइटको पूर्वाधार विकास र त्यससँग सम्वन्धित मर्मत सम्भारका लागि सिसडोल व्यवस्थापन कोष खडा गर्नुपर्ने सुझाव दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार