पानीको बहुआयामिक प्रयोग

 पूर्णबहादर परियार

मानव, पशुपक्षी र बिरूवा लामो समय बाँच्नलाई नियमित खानाको आवश्यकता भएजस्तै देश बाँच्न ऊर्जा चाहिन्छ । जलस्रोत व्यवस्थापनमा हाम्रो मुलुक चुकेको छ । वाग्मती, विष्णुमतीलाई दुर्गन्ध बनाएका छौं । हामीले यी नदीका मुहानमा ठूलो ताल हुने गरी बाँध बाधेर प्रत्येक दिन साँझ वा एक दिन बिराएर फ्लश गर्न सके फोहोर नै रहँदैन, गन्हाउने नदीकिनार नै घुम्न लायक पार्कमा परिणत गर्न सकिन्छ ।

पानीबाट बिजुली निकाल्ने प्रविधि आविष्कार नहुँदा पनि पानीको प्रयोगबाट अन्न पिस्ने घट्ट र ढुङ्गा र काठ काट्न प्रयोग गरिन्थ्यो । पानीको बहुउपयोग छ भन्ने पुष्ट भइसकेको तथ्य हो ।

 

पानीलाई पुनर्चक्रीय प्रणाली (रिसाइकल) गरी पुनः प्रयोग गर्न सकिन्छ । दिउँसो ड्यामको पानी सञ्चित हुन्छ र सूर्यास्त पश्चात् आवश्यक परे जलाशयको पानी प्रयोग गर्न सकिन्छ ।

घरायसी प्रयोग गर्न, पिउन, सरसफाइ गर्न , कृषि, माछापालन, पशुपालन गर्न तथा सिँचाइ गर्न पानीको उपयोग हुन्छ । उद्योग तथा कलकारखाना, पौडी पोखरी, र्‍याफ्टिङ, आदि अनेक कार्यका पानीका प्रयोग हुन्छ । तर, हामीे पानीको सदुपयोग गर्न चुकेका छौं । पानी प्रशस्त भएको मुलुकमा पानी किन्नुपर्ने बाध्यता हुनु न्यायसंगत हो रु होइन भने समाधान खोइ त ?

सन् १९४० देखि अस्ट्रेलिया र न्यूजील्यान्डमा हिउँ पग्लेर बगेको पानीलाई सन्चित गर्न कृत्रिम तालहरू बनाउन शुरू गरियो । यसबाट सिँचाइ तथा जलविद्युत् जस्ता बहुउद्देश्यीय परियोजना बनाउन सकिने अपेक्षा गरिएको थियो । सुरुङ मार्गको पछिल्लो प्रविधिहरू अपनाउँदै बाझा खेतहरूलाई बाह्रै महीना व्यस्त राख्न सकिन्छ ।

एक फेवातालले वर्षमा १ लाख पर्यटक भित्र्याउँछ भने त्यस्तै २० ओटा ताल बनाउन सके कति पर्यटक भित्र्याउन सकिएला ? आन्तरिक तथा बाह्य दुवै पर्यटन बढाउनुका साथै नगद प्रवाह पनि बढाउँछ । सुन्दरता थप्न नै विकसित मुलुकहरूले कृत्रिम नदी बनाउँछन् । अर्बौं खर्च गरी पुलहरूको निर्माण गर्छन् । हामीलाई त्यो जरुरी छैन । प्रकृतिले दिएका उपहारमा थोरै मात्र खर्च गरेर सामान्य निर्माण गर्न सके पर्यटक लोभ्याउने प्रशस्त आधार तय हुन्छ ।

संसारकै सबैभन्दा ठूलो जलविद्युत् परीयोजना ९२२,५०० मेगावाट, जलाशययुक्त० हो, थ्री गर्जेज ड्याम । यसले सन् २००३ देखि विद्युत् उत्पादन गर्न शुरू गरेको हो । यो २००५ बाट सर्वसाधारणका लागि खुला गरिएको थियो । सन् २०१४ देखि चीनभित्र र बाहिर बस्ने चिनियाँहरूका लागि निःशुल्क प्रवेश दिँदा पनि २०१५ मा २० लाख पर्यटक भित्र्याउन सफल भयो । ३५ करोड अमेरिकी डलर आर्जन गर्न सफल भयो । हुबेइ प्रान्तको याङ्जे नदीमा बनेको यो परियोजनाले संसारभरि नाम त कमायो नै त्यो शहरवासीको भाग्य नै बदलिदियो ।

ब्राजिल र पाराग्वेको सिमानामा पर्ने पाराना नदीमा १४,००० मेगावाट जडित क्षमताको जलविद्युत् उत्पादन गर्ने इटाइपु ड्याम परियोजना पनि यस्तै छ । आकारमा संसारको दोस्रो ठूलो र उत्पादनमा पहिलो ठूलो परियोजना मानिन्छ । यो आयोजनाले वार्षिक १०३।१ टेरावाट घण्टा विद्युत् उत्पादन गर्छ भने थ्री गर्जेजले ९८.८ टेरावाट घण्टा मात्र उत्पादन गर्छ ।

जनवरी सन् १९७१ मा शुरू गरिएको परियोजनाले सन् १९८४ बाट विद्युत् उत्पादन गर्न शुरू गरेको हो । सन १९७७ देखि भ्रमणका लागि खुला गरिएको उक्त परियोजनामा सन् २०१६ सम्ममा १९७ मुलुकबाट २ करोड पर्यटकले भ्रमण गरेको रेकर्ड सो परियोजनको वेबसाइटमा हेर्न सकिन्छ ।

यस्तो ठूला बाँध र जलाशयको प्राविधिक र वातावरणीय चुनौती पनि छन् । तर फाइदा धेरै गुना छ । यो निकै खर्चालु हुन्छ । हामीले ठूलाठूला क्षमतामा विद्युत् उत्पादन गर्नु जरुरी छैन । सानो र आपत्कालीन समय अर्थात् माग र आपूर्ति बीचको सन्तुलन मिलाउन सकिने गरी गुरुयोजना बनाउन सकिन्छ । गहिरो अध्ययन नभएर हो वा संकीर्ण सोचको उपज हो यस्ता परियोजना बनेका छैनन् । पानीलाई पुनर्चक्रीय प्रणाली (रिसाइकल) गरी पुनः प्रयोग गर्न सकिन्छ । दिउँसो ड्यामको पानी सञ्चित हुन्छ र सूर्यास्त पश्चात् आवश्यक परे जलाशयको पानी प्रयोग गर्न सकिन्छ ।

सुक्खा या खडेरीको समयमा पानीको कमी हुन्छ । यतिबेला पिउने पानीकै समस्या पर्छ । जलाशययुक्त बाँध बनाउँदा समुदायलाई पानीको उपलब्धताको सुनिश्चितता गर्न सकिन्छ । पानीको अभावले खेतीपातीमा नहुने अवस्था रोक्न पनि यस्ता ठूला बाँधहरू सहयोगी हुन्छन् ।

कृषि उपज, पशुपालन, मत्स्यपालन गर्न सिँचाइको आवश्यकता हुन्छ । ठूला बाँध बनाउने हो भने सिँचाइको सुनिश्चितता हुन सक्क । सातै दिन २४ घण्टा चिन्तारहित भएर कृषकहरू खेतीपाती गर्न पाउनेछन् ।

पानीको बहुआयामिक प्रयोग गन सकियो भने नयाँ नयाँ अवसरको सृजना हुन सक्छ । जलको सतहलाई बढाएर जलयात्रा गराउन सकिन्छ । माछा पालेर पर्यटकलाई माछा मार्न दिन सकिन्छ । जल खेलकुद, जलपर्यटन आदिको सम्भावनाको अवसरको ढोका पनि यसले खोल्छ ।

अहिले प्रशस्त पानी, अवसर, बाटोघाटो, विद्युत्, सञ्चारको अभावका कारणले ठूलो संख्यामा बसाइँसराइ तीव्र छ । पुर्खाको रगत पसिनाले बनाएको खेतीयोग्य तयारी जमीन, सुन्दर परम्परागत बलियो घर, सफा, स्वच्छ, शान्त र प्राकृतिक रूपमा नै रोग निको पार्न सक्ने वातावरण छाडेर शहरतर्फ हुत्तिनुपर्ने बाध्यता छ । ठूला बाँध बनाएर पानीको बहुआयामिक उपयोग गर्न सके यस्तो बाध्यताको अन्त्य हुन्छ ।

त्यसैले सरकार, नागरिक, नेता कर्मचारी सबैको ध्यान यतातर्फ जान जरुरी छ । अझै पनि ढिलो भएको छैन । समथर मैदान मात्र शहरका लागि योग्य होइन, डाँडाकाँडा पनि योग्य छन् भन्ने तथ्यका लागि सिक्किम, दार्जिलिङ, नैनीताल र मसुरी भ्रमण गर्दा दिल र दिमाग दुवैलाई ऊर्जा पनि मिल्छ ।

लेखक ऊर्जाविद् हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार