प्रदेश २ का मुख्यमन्त्री र ओडिएफ टोली बीच भेटवार्ता, बाँकी जिल्लाको नेतृत्व लिन मुख्यमन्त्री तयार

 

जनकपुर : खुला दिसामुक्त घोषणा गर्न बाँकी रहेका तराईका जिल्लाहरुको सरसफाइमा थप गति दिन केन्द्र सरकारबाट गएको टोली र प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउत बीच भेटवार्ता भएको छ । टोलीले मंगलबार भेटघाट गरी ओडिएफ गर्न बाँकी तराईका जिल्लाहरुको नेतृत्व लिन मुख्यमन्त्री समक्ष आग्रह गरेको थियो ।

जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि पूर्ण सरसफाइ कार्यक्रमलाई पनि मुख्यमन्त्री स्वच्छता अभियानसँगै मिलाएर लैजाने प्रस्ताव राखेको टोलीका सदस्य एवं सरसफाइ विज्ञ नमस्तेलाल श्रेष्ठले जानकारी दिनुभयो ।

जवाफमा मुख्यमन्त्री राउतले तराईका जिल्लाहरुलाई खुला दिसामुक्त घोषणा गर्नुपर्छ भनेर आफूले जोडबल गरिरहेको, अभियानमा आफू पनि संलग्न रहेको र प्रदेश २ का सबै जिल्लाहरु खुला दिसामुक्त घोषणाको अन्तिम तयारीमा रहेको जानकारी गराउनुभएको थियो ।
उहाँले मुख्यमन्त्री स्वच्छता अभियान र पूर्ण सरसफाइलाई सँगै सञ्चालन गर्ने कुरामा समेत सहमति जनाउनुभयो ।

टोलीले खुला दिसामुक्त अवस्था भनेको सरसफाइको आधारभूत तह मात्र भएको र सार्वजनिक शौचालय निर्माण, ढल व्यवस्थापन, सुरक्षित पानी, सुरक्षित खाना, चर्पीको सही सदुपयोग एवं व्यक्तिगत तथा वातावरणीय सरसफाइका कुराहरुलाई पूर्ण सरसफाइ कार्यक्रमले सम्बोधन गर्ने जानकारी गराएको थियो ।

धनुषामा रहँदा टोलीले प्रदेश नं। २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख, रतौली युवा क्लवका पदाधिकारीसँग पनि छलफल गरेको थियो ।

टोलीमा युएन ह्याबिट्याटका सामाजिक विश्लेषक मदन मल्ल, सरसफाइ विज्ञ नमस्तेलाल श्रेष्ठ, पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह र स्थानीय पूर्वाधार विभागका सिनियर डिभिज्नल इन्जिनियर महेश्वर घिमिरे हुनुहुन्छ । उहाँहरु सोमबार प्रदेश २ का जिल्लाहरुमा प्रस्थान गर्नुभएको हो ।

टोलीले आजै महोत्तरीको डिवाससीसीका पदाधिकारीसँग बैठक बसी महोत्तरीलाई खुला दिसामुक्त घोषणा गर्ने बिषयमा छलफल गरेको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति महोत्तरीले २० गते तयारी बैठक गर्ने भएको छ । बैठकले महोत्तरीलाई खुला दिसामुक्त घोषणा गर्ने बिषयमा व्यापक छलफल गर्नेछ ।

केन्द्रबाट खटिएको टोली आजै सर्लाही प्रस्थान गरेको छ । सर्लाहीले यही भदौ २३ गते खुला दिसामुक्त घोषणा गर्ने तयारी गरिरहेको छ ।

फोटो : विनोद शर्माको फेसबुकबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार