मुखबाट फिँज निस्किरहेको पशुको मासु कति स्वस्थकर ?

 

दशैमा धेरै उपभोग हुने पदार्थ मध्ये मासुजन्य पदार्थ पनि एक हो । दशैंमा नखाएको मासु कहिले खाने ? भन्दै मासु अलि बढी नै खान उक्साउँछौं । मासु बढी खाँदा स्वास्थ्यलाई हानी नगर्ने त कुरै भएन । अझ अस्वस्थकर र अधिक मासु दुवै खायौं भने तपाई हाम्रो स्वास्थ्यमा कस्तो असर पर्ला ?

त्यसैले दशैंमा मात्र होइन, जहिले पनि स्वस्थकर मासु मात्र उपभोग गर्नुपर्छ । स्वस्थकर मासु कसरी उपभोग गर्ने, आज हामी यही बिषयमा चर्चा गर्छौ ।

काठमाडौ, पोखरा लगायतको शहरी क्षेत्रमा खपत हुने मासुका लागि तरार्ईका हटियाबाट राँगाभैंसीलाई ट्रकमा कोचेर ल्याईन्छ । एउटा २० फीटको ट्रकमा २२–२६ वटा सम्म चौपाया खाँदेर राखिन्छ । बस्नका लागि ठाँउ नपुग्ने भएकोले १२–२५ घण्टाको यात्रामा उभ्याएर ल्याइन्छ र एकजना गोठालोको काम चौपायालाई बस्न नदिने मात्र हुन्छ ।

बाटोमा यी जनावरको पीडा राजमार्गका यात्रीले देख्न सक्छन् । नाकमा डोरीले बाँधिएका कारण रगत आउनु, मुखबाट फिज निस्किनु, शरीरभरि काटिएको डाम हुनु जस्ता विरक्त लाग्ने दृश्य देखिन्छन् जुन जनावर अधिकारका हिसाबले आपत्तिजनक अवस्था हो । बीचमा विषम परिस्थितिका कारण जनावरको मृत्यु भएमा मरेको जनावरलाई समेत काटेर मासु बेच्ने गरिएको छ ।

यसरी ढुवानी गरिएको जनावरको वजन २ देखि ३ प्रतिशत सम्म घट्न सक्छ । तरार्ईको बाटो भन्दा पहाडको घुम्तीहरूमा जनावरले बढी दुःख पाउँछन् । अन्तर्राष्ट्रिय मापदण्डमा पर्ने Happy Animal को अवधारणा भन्दा यो ठीक विपरित छ । काठमाडौँ उपत्यका भित्र साइकल, रिक्सा, टेम्पो, माइक्रोमा अव्यवस्थित रुपमा मासुको ओसारपसार तथा ढुवानी गर्ने गरेको पाईन्छ ।

परम्परागत तरिकाले बध गरेको मासु स्वास्थ्यका लागि हानिकारक

पशु वध गर्नु अगाडि र वध गर्ने तरिकाबारे पनि मापदण्ड बनेका छन् । वध अगाडि पशुको स्वास्थ्य परिक्षण गरी स्वस्थ भएको हुनुपर्ने, मानसिक अवस्था हर्षित (Happy Animal) हुनुपर्ने, अरू पशुको वध गरेको र औजारहरू वध गरिदै गरेको पशुले देख्न नहुने र वधका बारेमा थाहा दिन नहुने भन्ने छ ।

इस्लामिक परम्परा अनुसारको हलाल बाहेक अन्य तरिकामा पशुलाई दुःख नदिई वध गर्नुपर्छ । यसका लागि इलेक्ट्रिक सक गर्न अथवा टाउको पछाडि Hammering गर्न सकिन्छ । यसपछि पशुलाई जमिनमाथि उठाएर भुइसँगको सम्पर्क हटाउनुपर्छ र सबै रगत निथार्नु पर्दछ । आन्द्रा भुँडीलाई तुरून्तै मासुबाट अलग गर्नु पर्दछ । खान योग्य र अयोग्य मासुलाई पनि छुट्याउनु पर्दछ ।

काठमाडौँ उपत्यकामा उपभोग गरिने मासु परम्परागत तरिकाबाट सबै चरण, विधि र मान्यता विपरित र अमानवीय देखिन्छ । मान्छेले सबै दृश्य हेर्न सक्दैन । सवै विधि र प्रकृया नपुर्‍याई बध गरेका कारण मासु अस्वस्थ उत्पादन भईरहेको छ । पशुको ढुवानी, वध र मासु तयार गर्ने तरिका क्यामेरामा कैद गर्ने हो भने जो कोहीले यस्तो मासु खान सक्दैन । विहान झिस्मिसेमै गरिने करिब ८०० राँगा भैंसीको वध र मासु बनाउने र रिक्शा/टेम्पोमा गरिने ओसारप्रसारले सभ्य राजधानीको परिचय दिदैन ।

स्वस्थकर मासुको मापदण्ड

उपत्यकाका ठूलो हिस्साले राँगाभैंसीको मासु प्रयोग गर्दैनन् । कतिपय धार्मिक आस्था राख्ने समुदायले त मासु विक्री गरेको दृश्य र गन्ध पनि आपत्तिजनक मान्छन् तर यस्ता दृश्यबाट भाग्ने ठाउँ छैन । बाटोमा हिड्दा यत्रतत्र मासु खुल्लै ओसारिएको, छरपष्ट पारेर बेच्न राखिएको र रगत बाटो सम्म चुहिएको देख्न सकिन्छ । यस्तो अवस्था नेपाल बाहिर कुनै पनि देशको राजधानीमा छैन ।

आधुनिक बधशालामा उत्पादन गरिएको मासु मात्र स्वस्थकर मानिन्छ । छाला सहितको मासु स्वस्थ हुदैन । मासुलाई केही समय फ्रिजमा राखेपछि मात्र खानुपर्छ र उत्पादन स्थल देखि भान्सामा पुगुन्जेल चिसोमा राखिएको, भुँइमा नछुवाइएको र सिधै हातले नछोएको हुनुपर्छ ।

बोसो सकभर हटाएको हुनुपर्छ पशुबध पछि सबै रगत निकालिएको हुनुपर्छ । सबै भन्दा महत्वपूर्ण पक्ष भनेको पशुवध अगाडि र पछाडि भेटनेरी डाक्टरबाट जाँच गरिएको हुनुपर्छ । यी सबै मापदण्ड बधशाला बाहिर तैयार गरिएको मासुमा पुरा गर्नै सकिदैन ।

त्यसैले स्वस्थ जीवनयापनका लागि आधुनिक बधशालामा सबै मापदण्ड पूरा गरेर तयार पारेको मासु नै उपभोग गरौं । आधुनिक बधशालामा मात्र पशु बध गरौं, बध गरेको मासुलाई चिस्यान सहितको ढुवानी माध्यमद्वारा ओसारपसार गरौं र व्यवस्थित मासु पसलबाट मात्र विक्री वितरण गरौं ।

काठमाडौ उपत्यकामा स्वस्थ मासु मात्र आपूर्ति गराउने काठमाडौ महानगरपालिकाको प्रस्तावित अवधारणाबारे अर्को अंकमा प्रकाशित गर्नेछौं, वास खबर क्लिक गर्दै गर्नुहोला ।  — सम्पादक


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार