काठमाडौ : तपाई हामी मध्ये धेरै जना विरामी परेका होला ? कोही सामान्य विरामी भएपनि कतिलाई अस्पतालमै भर्ना गराएर पनि उपचार गराउनु परेको होला ? तपाई हामी बिरामी पर्दा कति फोहोर उत्पादन गर्छौ भन्ने कुरा चाहिं तपाई हामीलाई खासै थाहा हुँदैन । अध्ययन अनुसार एक जना विरामीले एक दिनमा झण्डै साढे एक किलो फोहोर उत्पादन गर्छन् ।
काठमाडौमा भईरहेको एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन तथा स्वास्थ्य संस्थाहरुमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी प्रथम राष्ट्रिय कार्यशाला गोष्ठीमा यसबारे जानकारी गराईएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०१५ मा गरेको अध्ययनले प्रत्येक विरामीले उत्पादन गर्ने फोहोरमध्ये करिब २० प्रतिशत फोहोर संक्रामक र जोखिमपूर्ण रहेको देखाएको छ ।
‘विरामीको लागि प्रयोग गरिने औषधी, सिरिन्ज, ल्याब टेस्टका लागि लिइने रगत, घाउ, शल्यक्रिया गर्दा काटिने अंगहरु जस्ता अति नै संक्रामक फोहोर जो अरु फोहोरभन्दा सयौं गुणा बढी जोखिमपूर्ण हुन्छ’ गोष्ठीमा स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले भन्नुभयो । उहाँका अनुसार संक्रामक फोहोरको उचित व्यवस्थापन नहुँदा संक्रामक फोहोर पनि सामान्य फोहोरमा मिसिंदा संक्रामक फोहोरको वास्तविक दर अझ बृद्धि भईरहेको छ ।
स्वास्थ्य संस्थामा ठूलो मात्रामा स्वास्थ्यजन्य फोहोर उत्पादन हुने भएकाले यस्ता हानिकारक फोहोरको उचित र दिगो व्यवस्थापन आजको चुनौती बनेको उहाँले बताउनुभयो ।
भोलि सम्म चल्ने गोष्ठीको दोस्रो दिन आज स्वास्थ्यजन्य फोहोर व्यवस्थापनको औचित्य, नेपालमा वातावरणीय स्वास्थ्य प्रबर्धनका लागि नीति र रणनीति, एकीकृत स्वास्थ्यजन्य फोहोर व्यवस्थापन सम्बन्धी राष्ट्रिय दिशानिर्देश र स्वास्थ्य संस्थामा वासको मापदण्ड, स्वास्थ्य संस्थामा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन : अवस्था विश्लेषण र सुधारका लागि प्रमुख पहल लगायत बिषयमा बृहत अन्तरक्रिया एवं छलफल भईरहेको छ ।
स्वास्थ्यजन्य फोहोर व्यवस्थापन र वासको दिगो अभ्यासहरुको बारेमा ज्ञान तथा अनुभव आदानप्रदान गर्ने र मानव स्वास्थ्यमा संक्रमण र प्रतिकुल प्रभावहरुलाई न्यूनीकरण गर्ने उपायहरुको खोजी गरी गुणस्तरीय स्वास्थ्य सेवाहरुमा समान पहुँच सुनिश्चितता गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो ।
भोलि सम्म चल्ने गोष्ठीबाट नेपालको संघीयता अनुरुप संघ, प्रदेश तथा स्थानीय तहमा एकीकृत तथा दिगो स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनका लागि बहुसरोकारवाला बीचको समन्वय खाका र सुशासन संरचना सहितको रणनीति तयार गरी स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनका अभ्यासहरुमा सुधार ल्याउने खास गरी उपचार र सो प्रक्रियालाई नगर फोहोरमैला व्यवस्थापन प्रणालीसँग एकीकृत गर्ने, प्रदेश, स्थानीय तथा स्वास्थ्य संस्था स्तरमा एकीकृत स्वास्थ्यजन्य फोहोरमैलाको दिगो व्यवस्थापनका लागि हाल रहेका ऐन, नियमावली, नीति, मापदण्ड, प्रविधि, निर्देशिका, कार्यविधिहरुको पुनरावलोकन तथा संघीय प्रणाली अनुरुप संशोधन हुने आयोजकको अपेक्षा छ ।
कार्यशालामा तीनै तहका सरकार, विकास साझेदार संस्थाहरु, निजी क्षेत्र र अन्तर्रा्ष्ट्रिय वक्ताहरु गरी करिब ३५० जनाको सहभागिता रहेको छ ।